
उर्लाबारी, २९ कार्तिक
सामाजिक सञ्जालहरुमा ‘नो भोट’, ‘नो भोट अगेन’ जस्ता अभियान सञ्चालन भइरहेका बेला मोरङको उर्लाबारी–७ स्थित नेपाल दर्शन कलेजका विद्यार्थीले भने असल नेतृत्व चयनका लागि मतदान गर्नुपर्ने आशयको भिडियो सामग्री तयार पारेका छन् ।
कलेजमा विविएस अध्ययनरत विद्यार्थीहरुले निर्वाचन सम्बन्धी जनचेतनामूलक भिडियो बनाएका हुन् । भोट नहाल्ने होइन, मतदान गरेर सही नेतृत्व चयन गर्ने बेला भएको जनाउँदै भिडियोमा सबै उम्मेद्वारका प्रतिबद्धता पढेर उपयुक्त उम्मेद्वारलाई मतदान गरी राज्य सञ्चालनको जिम्मेवारी दिनुपर्ने बताइएको छ ।
कलेजका भाइस प्रिन्सिपल दुर्गाप्रसाद पौडेलले निर्देशन गरेको भिडियोमा विद्यार्थीहरु मुकुन्द निरौला, मेविशा शिवाकोटी, रक्षा सुवेदी, रेनुका खनाल, रोजन भट्टराई, करुणा भट्टराई, सन्जोक विष्ट र विजय ज्ञवालीले अभिनय गरेका छन् । असल जनप्रतिनिधि चयन गर्न एक मत निर्णायक हुने भएकोले सबैलाई मतदान गर्ने अभिप्रेरित गर्ने उद्देश्यले भिडियो सामग्री तयार पारिएको भाइस प्रिन्सिपल पौडेलले बताए । भिडियोको छायाङ्कन सञ्चारकर्मी पुजन दासले गरेका हुन् ।