About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २२ कार्तिक
बैंक तथा वित्तीय संस्थाले चर्को व्याज असुली गरेको भन्दै उर्लाबारीका उद्योगी, व्यापारी, व्यावसायी आन्दोलित भएका छन् । चर्को व्याजदर र प्रतिकूल वैंकिङ नीतिका बिरुद्ध व्यापारी आन्दोलनमा उत्रिएका हुन् ।
उर्लाबारी उद्योग वाणिज्य संघको नेतृत्वमा आज व्यापारीहरुले उर्लाबारीमा रहेका बैंकमा १८ बुँदे ज्ञापनपत्र प्रदान गरेका छन् । भोलि उर्लाबारी चौकमा विरोध कार्यक्रम गर्ने संघका अध्यक्ष शेरबहादुर भण्डारीले बताए । आज पत्रकार सम्मेलन गरी संघले आन्दोलनमा सहभागी हुन सबै व्यापारी, व्यावसायीलाई आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले व्यापारी, व्यावसायी अहिलेको अवस्थामा चुप लागेर बस्ने हो भने रोडमा पुग्ने अवस्था आउने बताए । बैंकले चर्को व्याज असुलेको, प्रिमियरमा मनपरि गरेको, लोन नदिएका कारण व्यापारी मारमा परेको उनले बताए ।
संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ का सदस्य प्रितम खड्गीले व्यापारीका पीर मर्का नबुझी बैंकहरु नाफा कमाउन मात्र लागेको बताए । ‘लोन दिँदैनन्, व्याज बढाइरहन्छन्’ उनले भने, ‘बैंकले तनाव दिएका कारण व्यापारी पसलमा बस्ने अवस्था छैन ।’ बैंकको तनावका कारण व्यावसायी हतोत्साहित भएको उनले बताए ।
व्यावसायी सचिन शाक्यले मूल्यवृद्धिका कारण व्यावसाय चल्न नसकेको अवस्थामा बैंकले २० प्रतिशतसम्म व्याज लिएको बताए । ‘सुरुमा एउटा एग्रिमेन्ट गर्छन्, अनि बिस्तारै बढाउँदै लैजान्छन्’ शाक्यले भने, ‘यसैका कारण व्यापारी भाग्ने, पलायन हुने र डिप्रेसनमा जाने सम्भावना बढेको छ ।’
बैंकहरुले ऋणीलाई ब्याज निर्धारण गर्दा तोकेको प्रिमियम दरमा परिवर्तन गर्न नपाउने नीति भएपनि बैंकले मनपरि गर्दै आएको संघका महासचिव हेमराज गुरुङले बताए । कारोबारको २० प्रतिशत मात्र ऋण लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिले व्यावसायीहरु अप्ठ्यारोमा परेको उनले बताए । पत्रकार सम्मेलनमा संघका बरिष्ठ उपाध्यक्ष यमलाल रसाइली, पूर्व महासचिव राम थापा, पूर्व सचिव सम्झना खतिवडालगायतको उपस्थिति रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय