
इटहरी, ६ भदौ
कोरोना संक्रमितलाई मनोबल प्रदान गर्न इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोलीसहित संक्रमितको घरैमा पुगेका छन् । स्वास्थ्यकर्मीको टोलीसहित नगरप्रमुख चौधरी संक्रमित भएर घरैमा स्वास्थ्यलाभ गरिरहेका जनप्रतिनिधि र सर्वसाधारण नागरिकका घरैमा पुगेका हुन् ।
इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य अवस्थाको जानकारी लिएर आवश्यक औषधी, सल्लाह सुझाव दिएको छ । कोरोना संक्रमित इटहरी उपमहानगरपालिका इटहरी १४ का सदस्य दुखीलाल चौधरी, इटहरी ५ का सदस्यद्वय ईश्वर बिक्रम शाह, सन्तोष पराजुलीका घरैमा पुगेर परामर्श दिइएको हो । यस्तै इटहरी ९ कपिल घिमिरे, इटहरी ५ ज्योति माविका पूर्व प्रअ भैरव सापकोटा र इटहरी ६ का गणेश गुरुङको घरमा पुगी प्रमुख चौधरीले उच्च मनोबलका साथ कोरोनालाई परास्त गर्न हौसला प्रदान गरे । भेटघाट कार्यक्रममा नेकपा एमाले नगर इन्चार्ज बनुलाल चौधरी, अध्यक्ष यामकुमार सुब्बा पनि सहभागी थिए । यसअघिपनि इटहरीका नगर प्रमुख चौधरी संक्रमितलाई भेट्न घरैमा पुगेका थिए । इटहरी वडा नम्बर १३, १६ र १७ का छ वटा घरमा पुगेर मनोवल उच्च राख्न सल्लाह दिएका थिए ।



