
उर्लाबारी, १९ कार्तिक
पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था उर्लाबारीको अध्यक्षमा पुनः चन्द्रबहादुर भट्टराई ‘भरत’ चयन भएका छन् । आज उर्लाबारी–७ स्थित देवीस्थान दुर्गा मन्दिरमा भएको संस्थाको १५ औं चुनावी साधारणसभाबाट भट्टराईको नेतृत्वमा नयाँ समिति सर्वसम्मत् चयन भएको हो ।
नवगठित समितिको उपाध्यक्षमा सुरेन्द्रबहादुर कार्की, सचिवमा केदार रिजाल, सहसचिवमा विमलकुमार थापा र कोषाध्यक्षमा इन्द्रबहादुर भट्टराई रहेका छन् । यस्तै, सदस्यमा नरमाया थापा, तुलसी खतिवडा, चन्द्रकला कोइराला र तेजकुमार भट्टराई तथा लेखा समिति संयोजकमा विरेन्द्र थापा, सदस्यमा सदस्य विष्णुप्रसाद अधिकारी र नगेन्द्र घिमिरे चयन भएका छन् ।
उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकले प्रस्तुत गरेको प्रतिवेदन पास गरिएको थियो । साधारणसभाको अवसरमा ज्येष्ठ नागरिक कृष्णकुमारी भट्टराई र हिरण्यप्रसाद भट्टराई, उत्कृष्ट बचत गर्ने उर्मिला तिवारी र नेत्रप्रसाद आपागाई, असल ऋणी लक्ष्मी पौडेल, लक्ष्मण धिमाल, इन्दिरा भट्टराई र नन्दकुमार दाहाललाई सम्मान गरिएको थियो ।
५३२ जना शेयर सदस्य रहेको पञ्चकन्या सहकारीको कुल शेयर पुँजी ४९ लाख १२ हजार ४ सय रुपैयाँ रहेको अध्यक्ष भट्टराईले जानकारी दिए । गत आर्थिक वर्षमा संस्थाको २८ लाख ७८ हजार ७९३ रुपैयाँ आम्दानी र २४ लाख ७० हजार २४१ रुपैयाँ खर्च भई ४ लाख ८ हजार ५५२ रुपैयाँ बचत भएको प्रतिवेदनमा उल्लेख छ । उक्त आर्थिक वर्षमा संस्थाले ६ करोड ५२ लाख २४ हजार ३९२ रुपैयाँ बराबरको कारोबार गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि मेयर गंगाप्रसाद खरेल, उर्लाबारी–७ की वडाध्यक्ष उर्मिला थापा, सहकारी सञ्जाल उर्लाबारीकी अध्यक्ष सीता कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष चन्द्रबहादुर भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन केदार रिजालले गरेका थिए ।