
उर्लाबारी, १५ कार्तिक
घनश्याम खतिवडा उत्तरी मोरङमा सुपरिचित नाम हो । कहिले शिक्षक, कहिले भूमिगत राजनीतिक कार्यकर्ता त कहिले जनप्रतिनिधि, सहकारी अभियन्ता र सामुदायिक बनको अभियन्ता जस्ता सामाजिक क्षेत्रका हरेक मोर्चामा देखिने क्रियाशील व्यक्ति हुन्, लेटाङ निवासी घनश्याम खतिवडा ।
२०१८ साल कार्तिक १२ गते ताप्लेजुङको नाङखोल्याङ (हाल पाथीभरा यङ्वरक गाउँपालिका वडा नं. १) मा बुबा इन्द्रप्रसाद र आमा कृष्णमायाको कोखबाट जन्मिएका खतिवडा १५ वर्षकै उमेरबाट राजनीतिमा सक्रिय भएका हुन् । २०३३ सालमा तत्कालिन कोर्डिनेशन केन्द्रको बाल रेडगार्डबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका खतिवडाले २०३८ सालमा तत्कालिन मालेको पार्टी सदस्यता प्राप्त गरे । २०४१ सालमा मालेको इलाका सदस्य हुँदै २०४४ सालदेखि लगातार ०६७ सालसम्म एमाले मोरङको जिल्ला सदस्यको रुपमा रहेर क्रियासिल भए । त्यसपछि एमाले कोशी अञ्चल समन्वय कमिटीको सदस्य हुँदै अहिले १ नं प्रदेश कमिटी सचिवालय सदस्य छन् ।
राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक तहसम्मको अध्ययन पुरा गरेका खतिवडाले मोरङको केराबारीस्थित बुद्ध निमाविमा चार वर्षसम्म शिक्षण समेत गरे । तर पछि तत्कालिन माले पार्टीले पञ्चायती राजनीतिमा पार्टी हस्तक्षेपको नीति अगाडि सारेपछि उनले स्थायी जागिर छाडेर २०४३ सालमा लेटाङ गाउँ पञ्चायतमा जनपक्षीय उम्मेद्वारको रुपमा प्रधानपञ्चको उम्मेदवार भएर थोरै मतले पराजित भए । प्रजातन्त्रको पुनःस्थापना पछि २०४९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लेटाङ गाविसको अध्यक्षमा निर्वाचित भए । २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेसका डिगबहादुर लिम्बूसँग पराजित उनी उनै लिम्बूलाई हराउँदै २०७४ सालमा मोरङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।
संसदको पाँच वर्षे अवधिमा खतिवडाले खेलेको भूमिका उल्लेखनीय छ । निर्वाचित भएलगत्तै संसदमा उनले मदन भण्डारी राजमार्ग निर्माण गर्नुपर्ने कुरा उठान गरे । २०७५।०७६ को नीति, कार्यक्रम तथा बजेटमा उक्त राजमार्ग निर्माण गर्न बजेट नै विनियोजन भयो । पूर्वपश्चिम झण्डै १२ सय किलोमिटर लामो राजमार्ग अहिले निर्माण तीब्रगतिमा भइरहेको छ । यो राजमार्गले मोरङको क्षेत्र नं. १ का चारवटै पालिका उर्लाबारी, मिक्लाजुङ, लेटाङ र केराबारीलाई छोएर अघि बढेको छ ।
यस क्षेत्रको सडक निर्माण, ग्रामीण विद्युतीकरण, खानेपानी, सुरक्षित आवास, सांस्कृतिक स्थानहरुको निर्माण र संरक्षण, स्वास्थ्य र शैक्षिक संस्थाको स्थितिमा सुधार जस्ता काममा सक्रियता जनाएका खतिवडा नदी नियन्त्रणमा धेरै काम भएको बताउँछन् । तर, यतिमा मात्र उनी सन्तुष्ट छैनन् । ‘चुरे फेदीमा धेरै खोलाहरुबाट घेरिएका ठाउँमा ती काम अझै अपर्याप्त रहेको महसुस गरेको छु’ उनले भने । एउटा राजनीतिक दलको उम्मेद्वार भएर निर्वाचित भएपनि यस बिचमा विकास निर्माण, जनताको सुरक्षा र सेवासम्बन्धी चासोहरुमा सबैको प्रतिनिधि भएर काम गरेको उनले बताए ।
आफ्नो क्षेत्रका समस्या तथा समग्र राष्ट्रिय राजनीतिमा केन्द्रीत भई संसदमा दह्रो र खरो विषय उठान गर्ने प्रष्ट बक्ता खतिवडा प्रतिनिधिसभाका अधिकांश बैठकमा सहभागी भए । संसदमा ५६ पटक फ्लोरबाट शुन्य समय र विषेश समयमा बोलेका खतिवडाले ८६ पटक रोष्ट्रमबाट विभिन्न विधेयक, सार्वजनिक महत्वका विषय, क्षेत्रका समस्याका बारेमा छलफलमा भाग लिए । सभामुखको अनुपस्थिति र उपसभामुख रिक्त रहेको समयमा प्रतिनिधिसभा सञ्चालनका लागि बनेको समितिमा रही पाँच पटकसम्म सभामुखको आसनबाट प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका खतिवडा संसदमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने थोरै सांसदमध्येका एक हुन् ।
‘यो पाँच वर्षे अवधिमा जनअपेक्षाअनुसारका सम्पूर्ण काम गर्न सकिएन होला’ स्पष्टवक्ता उनी भन्छन्, ‘तर, मैले मोरङ क्षेत्र नं. १ का आम मतदाताले शीर निहु¥याउनुपर्ने अवस्था बनाएको छैन ।’ आफ्नो ४५ वर्षे राजनीतिक जीवनमा राजनीतिलाई कहिल्यै पनि पेसाको रुपमा नलिएको बताउने खतिवडा सेवाभावले अघि बढेको बताउँछन् ।



