
पथरी, ६ भदौ
मोरङको पथरी शनिश्चरे नगरपालिका–२ की फूलमाया मगरलाई पाठेघरको क्यान्सरले सताएको महिना दिन बित्यो । २०५० सालदेखि एकल जीवन बिताइरहेकी फूलमायालाई पाठेघर खस्ने समस्याले सताएको लामो समय भएको थियो ।
कमजोर आर्थिक अवस्था र दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएकी फूलमायाले पाठेघर खस्ने समस्याको उपचार गराउँदा गराउँदै ४० हजारभन्दा बढी रकम खर्च गरिसकेकी छिन् । फूलमायाको रोग तब मात्रै पत्ता लाग्यो जब उनले दिनरात मेहनत गरेर कमाएको ४० हजार रुपैयाँ सकियो । रोगको निक्र्योल त भयो तर उपचार गराउन भने फूलमायालाई थप समस्या प¥यो । गरिबको कर्म नै खोटो भने झैँ जेनतेन गरेर जोहो गरेर राखेको सबै रकम पनि सकियो थप उपचार गर्ने रकम नहुँदा यतिबेला फूलमाया थलिएकी छिन् ।
पारिवारिक समस्याका कारण २०५० सालदेखि काखे छोरा च्यापेर श्रीमान्को साथ छाडेर पथरी आएकी फूलमायाले बनीबुतो गरेर जीवनयापन गर्दै आएकी थिइन् । आर्थिक समस्याकै कारण छोरालाई राम्रो शिक्षा दिन पनि पाइनन् जसका कारण छोराले पनि आमाकै जस्तै ज्याला मजदुरी गरी जीविकोपार्जन गरिरहेका छन् । पाठेघर खस्यो भन्दा भन्दै फूलमायालाई क्यान्सर भयो, अहिले पाठेघरमा क्यान्सर भएपछि घरको आँगन पनि उनका लागि टाढा भएको छ । पथरी शनिश्चरे– २ नवज्योति टोलमा फूलमायाको एउटा सानो घर छ । वनको छेवैमा खालि जग्गा रहेको थियो । सो जग्गा पनि माइतीका दाजुहरुले उपभोग गरिरहेका थिए तर गाउँलेसँगको सल्लाहमा दाजु भाइहरुले फूलमायालाई घर बनाएर बस्न दिएका छन् ।
करिब १ वर्षअघि बिरामी भएपछि अस्पताल धाउन थालेकी उनको गत साउनमा नोवेल अस्पताल बिराटनगरले पाठेघरमा क्यान्सर पत्ता लाग्यो । ‘अस्पतालमा जचाउँदा कहिले मृगौलामा पथ्थरी त कहिले पाठेघरमा समस्या भएको भन्दै अस्पतालले दिएको औषधी खाएँ तर पीडा कम भएन, कमाएको ४० हजार रुपैयाँ पनि सकियो । रोग पत्ता लाग्यो तर उपचार गर्न अब पैसा छैन’ आखाभरि आसु पार्दै फूलमायाले बताइन् । उपचारका लागि भरतपुर क्यान्सर अस्पताल जान रकम अभाव भएपछि फूलमाया जीवन मरणको दोसाँधमा छिन् । वडा कार्यालय, नगरपालिका, सामुदायिक वन र छिमेकीहरुले आर्थिक सहयोग गरेर फूलमायाको उपचार गर्ने बताइरहेका छन् ।
फूलमायाका २ भाइ छोराहरु पनि मजदुरी गरेर परिवारको गर्जो टार्दै आएका छन् । आमाको उपचारका लागि रकम संकलन भए तत्काल उपचार गर्न लाने छोरा दिनेश पुलामी मगरले बताए । देश तथा विदेशमा रहनुहुने सबै मनकारीहरुले सकेको सहयोग गरेर आफ्नो उपचार गरिदिन फूलमायाले अनुरोध गरेकी छन् । फूलमायाको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न नवज्योति टोल विकास समिति अध्यक्ष खेमराज न्यौपानेको संयोजकत्वमा समिति समेत गठन भएको छ । सहयोग गर्न चाहनेहरुले फूलमायाका छोरा दिनेश पुलामीको सिद्धार्थ बैंक पथरी शाखामा रहेको खाता नं. ००७१८३००९४० मा सहयोग पठाउन सकिने समितिले जनाएको छ । सम्पर्क गर्नुपरेमा समितिका संयोजक न्यौपानेको फोन नं. ९८०७३१३१३४ मा गर्न सकिने जनकारी दिइएको छ ।