
घरमा जुत्ता चप्पल राख्ने छुट्टै ठाँउ हुने तर पैसा राख्ने नहुने अनि कसरी आँउछ घरमा पैसा र सम्वृद्धि ?
तपाई हाम्रो घरमा जुत्ता चप्पल राख्ने छुट्टै रयाक हुन्छ । त्यो र्याकमा हामी जुत्ता चप्पल बाहेक केहि पनि राख्दैनौ । तर प्रायको घरमा पैसा राख्ने छुट्टै ठाँउ छैन । लुगा कपडा राख्न भनेर किनेको दराजको एउटा कुनामा,वक्सामा पैसा राख्छौ जुन पैसा राख्न भनेर किनेको हुदै होइन । संसारको सवैभन्दा ठूलो इनर्जीको स्रोत पैसा राख्नेनै छुट्टै ठाँउ छैन,जुत्ता चप्पलको जतिपनि इज्यत पाएको छैन भने तपाई हाम्रो घरमा पैसा कसरी आँउछ ?
यो भनाई हो माइण्ड साइन्स एनएलपी प्रशिक्षक,वास्तु बिद राजाबाबु शाहको । सप्तकोशी एफएमको कार्यक्रम सप्तकोशी बहसमा कुरा गर्दै उहाँले भन्नुहुन्छ “पैसा सम्वन्धी गलत धारणाका कारण जति पैसालाई आकर्षित गर्न सक्नुपर्ने हो त्यो गर्न सकेका छैनौ । सानै कक्षामा पढदा बिद्याभन्दा धन ठूलो भन्ने बिषयमा बादबिबाद नै गराइयो । हामीले मच्चिइ मच्चिई बिद्याको पक्षमा वकालत गरेका थियौं । बिद्याकी देवी सरस्वतीको अत्यन्तै ठूलो महत्व हुन्छ तर धनलाई सानो देखाएर मात्रै बिद्यालाई ठूलो देखाउने भन्ने त होइन । पढि सकेपछि प्रमाणपत्र बोकेर त्यहि बिद्यार्थी पैसा कमाउन नि निस्कन्छ । पैसा इनर्जि हो हरेक इनर्जिको मेमोरी हुन्छ पैसाले सानै देखि तपाई हामीले उसलाई भनेको उसप्रति गरेको ब्यवहार सम्झीरहेको हुन्छ त्यहि भएर हाम्रो ब्यवहारलाई परिवर्तन नगरे सम्म पैसा सम्वन्धी सकारात्मक धारणा मनको गहिराई सवकन्सियस माइण्डमा स्थापित नगरे सम्म पैसा सम्वन्धी चुनौतीहरु सामना गरिनै रहनुपर्छ ।”
हामीले पैसालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न र धनसम्पती पैसा सम्वन्धि प्रष्टधारणा बनाउन आज लक्ष्मीपूजाको दिन अत्यन्तै शुभअवसर भएको उहाँको भनाई छ । लक्ष्मी र बिष्णु श्रीमान श्रीमति हुन । आज लक्ष्मी सँगसँगै बिष्णुको पनि पूजा गर्नुपर्छ । बिष्णु भनेको प्रष्टता र लक्ष्यका प्रतिक हुन । तपाईको पैसा सम्वन्धि एक बर्षे लक्ष्य के छ ? प्रष्ट सँग कागजमा लेखेर आज लक्ष्मी पूजा गर्दा त्यो लक्ष्य लेखिएको कागजलाई पनि पूजा गर्नुपर्छ । बिष्णुको फोटो राखेर पूजा गरिरहनु परेन त्यहि कागजनै बिष्णुको प्रतिक हो । त्यो लक्ष्य पूरा गर्न तपाईले आफना बानीब्यहोरालाई परिवर्तन गर्दै अघि वढनुपर्छ । पैसालाई हेर्ने दृष्टिकोण धारणा परिवर्तन गर्नुपर्छ ।
आज लक्ष्मी पूजाको दिन बेलुका दियो बाल्ने बेलामा भगवान गणेश,माता लक्ष्मी,भगवान कुवेर,भगवान धवन्नतरी,भगवान बिष्णु,तुलसीमाता,अन्नपूर्ण माता र भगवान चित्रगुप्तको नाममा दियो बाल्न राजाबाबु शाहको सल्लाह छ ।



