
ताप्लेजुङ, ४ कार्तिक
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय वनेमले हिजो फेसबुकमा लेखे ‘अब ढुक्कले यात्रा गर्नुहोस् ।’ धरान–धनकुटा– बसन्तपुर हुँदै मैवाखोला गाउँपालिका पुग्ने सडक मर्मत भएपछि हिजैबाट यात्रुबाहक बस सञ्चालनमा आएपछि अध्यक्षले यो जानकारी गराएका हुन् । यसअघि सवारी साधन सञ्चालनमा सकस थियो ।
सडकको अवस्थाका कारण वर्षायाममा सञ्चालन हुन नसकेपनि गाउँपालिकाको पहलमा मर्मत भएपछि बस सञ्चालन हुन थालेको हो । बसन्तपुर–गुफा–साँघु–ढुङ्गेसाँघु–दोभान सडक अन्तर्गत संखुुवासभाको मंगलबारेदेखि झ्याउपोखरी साघुसम्मको सडक मैवाखोला गाउँपालिकाको पहलमा बुधबारदेखि मर्मत कार्य भइरहेको अध्यक्ष वनेमले बताए । आजसम्म सडक मर्मतको कार्य जारी रहने उनले जानकारी दिए । सडक मर्मतपछि धरानबाट मैवाखोलासम्म बस सेवा सञ्चालन गर्न कुनै कठिनाइ नहुने अध्यक्ष वनेमको भनाई छ ।
यस्तै, मैवाखोला गाउँपालिकाको केन्द्र साँघुबाट दोभान हुँदै सदरमुकाम फुङ्लिङसम्म जाने सडकको साँघु–दोभान खण्डलाई पनि थप व्यवस्थित गर्ने तयारी गाउँपालिकाले गरेको छ । मैवाखोलाबाट सदरमुकाम वा धरान जाने सवारी साधनले यात्रुलाई चर्को भाडा असुल्ने गरेको गुनासो आएपछि यसतर्फ पनि गाउँपालिकाको ध्यानाकर्षण भएको छ । ‘यात्रुहरूलाई चर्को भाडा असुल्ने कार्यलाई अब नियन्त्रण गरिनेछ’ अध्यक्ष वनेमले भने, ‘गाउँपालिकाको तर्फबाट केही दिनभित्रै आवश्यक कदम चालिने छ ।’