
उर्लाबारी, ३ कार्तिक
अहिले सबै दल मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा केन्द्रीत भएका छन् । हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा वकालत गर्दै आएको पार्टी राप्रपा पनि निर्वाचनमा होमिएको छ ।
राप्रपाका उम्मेद्वार अहिले जनताका घरदैलोमा पुगेका छन् । राप्रपाले नयाँ नारा अघि सारेको छ, ‘तपाईँ मत बदल्नुहोस्, हामी देश बदल्छौं ।’ निर्वाचन जितेर अनेक पटक सरकार बदलिँदा पनि देशको मुहार नबदलिएको राप्रपाका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नंं १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार होम गौतम बताउँछन् ।
‘जनतालाई मत बदलेर राप्रपामा मत हाल्न अनुरोध गरेका छौं’ गौतमले भने, ‘जिताएर पठाउनुभयो भने हामी देश बदल्ने छौँ ।’ ‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु सरह हो भन्ने हाम्रो पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको विचार र पथलाई आत्मसाथ गर्दै हामी अघि बढेका छौं’ गौतमले भने, ‘परिवर्तन हाम्रै पालामा सम्भव भएकोले हामी देश बदल्न लागेका छौं, जनताले मत दिएर जिताउनुभयो भने हामी लक्ष्यमा पुग्ने छौं ।’