
लेटाङ, १ कार्तिक
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमालेले मोरङ क्षेत्र नं. १ (२) मा खड्गबहादुर बस्नेतलाई उम्मेद्वार बनाएको छ । उत्तरी मोरङमा विकासको ढोका खोल्ने बस्नेत को हुन् त ?
नेकपा एमाले प्रदेश नम्बर १ कमिटीका सचिवालय सदस्य बस्नेत २०१२ सालमा जन्मेका हुन् । धनकुटाको राजारानीमा बुवा कृष्णबहादुर बस्नेत र आमा पदममाया बस्नेतका जेष्ठ सन्तानको रुपमा जन्मेका बस्नेतको बाल्यकाल धनकुटामा नै बित्यो । प्रारम्भिक शिक्षा बुवा–आमा र घरबाट नै प्रारम्भ गरेका बस्नेतले कक्षा–५ सम्मको प्राथमिक शिक्षा पुण्य प्राथमिक विद्यालय राजारानी धनकुटाबाट लिए । भानु जनप्रिय मावि डाँडाबजार धनकुटाबाट कक्षा ८ सम्मको अध्ययन पूरा गरेका उनले कक्षा १० सम्मको अध्ययन भने शिक्षा निकेतन मावि धरानबाट पूरा गरे । महेन्द्र क्याम्पस धरानबाट आइए र धनकुटा बहुमखी क्याम्पसबाट विएड गरेका उनले सुकुना बहुमुखी क्याम्पसमा एमएड पढे ।
निडर र हक्की स्वभावका बस्नेत बाल्य अवस्थादेखि नै क्रान्तिकारी थिए । परिवारभित्रकै विभेदको पनि कडा प्रतिवाद गर्ने बस्नेतलाई घरको कुलपूजामा महिलालाई प्रवेश गर्न नदिने र महिलाले प्रसाद समेत खान नहुने नियमले विद्रोह गर्न उत्प्रेरित गरेको थियो । कुल देउता सबैका लागि उत्तिकै हुन्छन् भन्दै उनले आमालाई पनि पूजामा सरिक हुनका लागि विद्रोह गर्नुपरेको थियो ।
२०४० सालमा बबिता निरौलासँग वैवाहिक बन्धनमा बाँधिनुभएका बस्नेतका २ छोरा र एक छोरी छन् । गाउँघरमा ठूले भनेर परिचित बस्नेत छरछिमेकीका प्रिय पात्र हुन् । जो सुकैलाई जस्तोसुकै सहयोग गर्न पछि नपर्ने उनी थिचोमिचो भने सहन हुँदैन भन्ने स्वभावका छन् । भौगोलिक अवस्था र शैक्षिक वातावरणका कारण उनले पढ्नका लागि पनि निकै दुःख गर्नुप¥यो । डाँडाबजारको स्कुलसम्म पढ्न डेढ घण्टाको उकालो ओरालो गर्नुपर्ने उनका लागि मावि पढ्न भने धरान नै झर्नुपर्ने बाध्यता थियो । जब मावि अध्ययनका लागि धरान झरे पढाइका साथसाथै उनको रस क्रमशः राजनीतितर्फ पनि भिज्दै गयो । चित्र निरौलाहरुको संगत, जेबी टुहुरे, मन्जुल नेपालहरुका क्रान्तिकारी गीतले उत्प्रेरित भएका बस्नेत २०३० सालमा एसएलसी दिए लगत्तै साँस्कृतिक अभियानमा होमिए ।
अनेरास्ववियु, युनियन कमिटीमा आवद्ध भइ धनकुटा चौबिसे क्षेत्र र उत्तरी मोरङमा साँस्कृतिक अभियान सञ्चालन गर्दै हिडेका बस्नेत २०३२ सालदेखि मोरङको केराबारी गाउँ पार्टी सक्रिय दल संस्थापक संगठक हुँदै केही समयपछि पार्टी प्रमुख नै भए । २०३२ सालमा नै सामन्तीका विरुद्ध जनवादी सांस्कृतिक आन्दोलनमा सहभागी हुँदा धनकुटाको राजारानी र ओख्रेबाट पक्राउ परे । राजनीति सँगसँगै २०३५ सालमा आईए उत्तीर्ण गरेसँगै उनले सावित्री माविमा शिक्षण पेशा समेत आरम्भ गरे । १० वर्षे लामो शिक्षण पेशामा रहँदा उनले शिक्षक आन्दोलनको नेतृत्व र विद्यार्थी आन्दोलनको कमाण्ड समेत सम्हाल्दै आए । २०३८ सालको विद्यार्थी आन्दोलनको कमाण्ड गर्दा अग्र मोर्चामा रहेका उनी प्रहरीको कुटाईबाट घाइते भए ।
पार्टीमा २०४० सालदेखि उत्तरी क्षेत्र इलाका कमिटी सदस्यको जिम्मेवारी सम्हालेका बस्नेत २०४२ सालको शिक्षक आन्दोलनमा अग्रमोर्चामा रहेर नेतृत्व गरे । २०४३ सालमा मालेको भूमिगत जिल्ला अधिवेशनको प्रतिनिधि थिए भने अधिवेशन व्यवस्थापन समेतको जिम्मेवारी पूरा गरे । २०४६ सालको आन्दोलनमा पनि अग्रमोर्चामा रहेका बस्नेत पार्टी सचिव हुँदै २०४८ सालदेखि पार्टी जिल्ला कमिटी मोरङको सदस्य हँुदै सचिवालय सदस्यको जिम्मेवारीमा रहे । ३ कार्यकाल मोरङको सहसचिवको जिम्मेवारी पूरा गरेका बस्नेतले १ वर्ष स्वास्थ्य क्षेत्रमा समेत सेवा गरे ।
२०४९ देखि २०५४ सम्म केराबारी गाविसको उपाध्यक्ष बनेका बस्नेत २०५४ देखि २०५९ सम्म मोरङको जिविस सभापति बने । उनी २०५७–२०५९ सम्म पूर्वाञ्चल विश्वविद्यालयको सिनेट सदस्य समेत बने । २०६२÷०६३ को जनआन्दोलनका क्रममा पटक पटक पक्राउ परेका बस्नेतले २० दिन कारागार र १२ दिन प्रहरी हिरासतमा बिताउनुप¥यो । पार्टीमा स्थानीय निकाय केन्द्रीय विभाग सदस्य हुँदै हाल १ नम्बर प्रदेश कमिटी सचिवालय सदस्य तथा मोरङ १ नम्बर संघीय निर्वाचन क्षेत्रको इञ्चार्जको भूमिकामा रहेका छन् । मोरङ पत्रकार महासंघ लगायतका १ दर्जन संघ–संस्थाबाट अभिनन्दित भएका बस्नेतले नेपाल सरकारबाट २०५८ सालमा पदक प्राप्त गरेका थिए । तीन दशकभन्दा बढीदेखि मोरङको केराबारीको स्थायी बसोबास गर्दै आएका बस्नेत यस पटकको निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ (२) बाट उम्मेद्वार बनेका छन् ।
२०५४ सालदेखि २०५९ सालसम्म नेकपा एमालेबाट जिल्ला विकास समिति मोरङको सभापतिमा निर्वाचित भएका बस्नेतलाई मोरङको उत्तरी क्षेत्र र भारतीय सिमा क्षेत्रमा विकासको सुरुवाती जग बनाउने व्यक्तित्वको रुपमा चिनिन्छ । मोरङ जिल्लामा विराटनगर र राजमार्ग क्षेत्रमा केहि विकासका काम भएपनि उत्तरी मोरङ र दक्षिणी भारतीय सिमा क्षेत्र विकासमा धेरै पछि परेको अवस्थामा उनी जिल्ला सभापति हुँदै ती क्षेत्रलाई प्राथमिकतामा राख्दै विकासको काम सुरुवात गरेका थिए । उनले खासगरी भारतीय सिमा क्षेत्रमा सडक निर्माण र उत्तरी मोरङमा सडक र कल्भर्ट निर्माण, सिंचाई, विद्यालय भवन निर्माण, झोलुंगे पुल निर्माण, एलजीपी कार्यक्रम मार्फत संगठन, बचत र सिपको कार्यक्रम सञ्चालन, व्यवसायिक तरकारी खेतीको सुरुवात गराउने लगायतका काम गर्दै विकासको जग बसाएका थिए । उनले जिविस सभापति हुँदा जिविस मार्फत र त्यसपश्चात समेत आरआरएन, प्लान नेपाल, युएनडिपि, हडन जस्ता संस्थामार्फत ठूलो लगानी उत्तरी मोरङमा भित्र्याएका छन् ।