
उर्लाबारी, ४ भदौ
मोरङको उर्लाबारीमा दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता ६२ जना संक्रमितको मृत्यु भएको छ । नगरपालिका स्वास्थ्य शाखाका अनुसार वैशाखदेखि हालसम्म ४२ पुरुष र २० महिलाको मृत्यु भएको हो ।
दोस्रो लहरको संक्रमणका कारण वैशाखमा ८ जना, जेठमा २२ जना, असारमा १० जना, साउनमा २० जना र भदौमा २ जनाको मृत्यु भएको स्वास्थ्य शाखा सहसंयोजक सुरेश खड्काले जानकारी दिए । उनका अनुसार वडा नं. ३ र ७ का ११÷११ जना, वडा नं. २ का ९ जना, वडा नं. ५, ६ र ८ का ७÷७ जना, वडा नं. ४ का ६ जना तथा वडा नं. १ र ९ का २÷२ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि नगरपालिकाले हर प्रयास गरेपनि संक्रमण र मृत्युमा कमी आएको छैन । नगरप्रमुख खड्ग फागो संक्रमणबाट बच्न व्यक्ति स्वयम् सचेत हुनुपर्ने बताउँछन् । संक्रमण रोकथामका लागि जिल्ला प्रशासन र नगरपालिकाले लकडाउन गरेपनि लापरबाहीका कारण संक्रमण बढेको छ । स्वास्थ्य मापदण्डको पालना गर्ने, मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, भौतिक दुरी कायम गरे संक्रमणबाट जोगिन सकिने मेयर फागो बताउँछन् ।
मोरङका स्थानीय तहमध्ये विराटनगर महानगरमा कोरोनाका कारण १६७ जनाको मृत्यु भएको छ । आठ नगर र आठ गाउँपालिकामध्ये सबैभन्दा बढी उर्लाबारीमा ६२ जनाको मृत्यु भएको छ । यस्तै, सुन्दरहरैँचामा ४२, बेलबारीमा ३१, पथरीशनिश्चरेमा १९, लेटाङमा १४, रंगेलीमा ७, रतुवामाईमा ६ र सुनवर्षीमा ५ जनाको मृत्यु भएको छ ।
गाउँपालिकातर्फ सबैभन्दा बढी केराबारीमा १३ जनाको मृत्यु भएको छ । यस्तै, बुढीगंगामा ९, कानेपोखरीमा ८, मिक्लाजुङ र जहदामा ७÷७, कटहरी र ग्रामथानमा ५÷५ र धनपालथानमा ४ जनाको मृत्यु भएको छ ।



