
उर्लाबारी, २९ असोज
ताप्लेजुङको चाँगे थातथलो भई झापा र मोरङमा बसोबास गर्नेहरुको बृहत भेला आज सम्पन्न भएको छ । झापाको कमल गाउँपालिका–३ केरखामा विभिन्न साँस्कृतिक कार्यक्रमसहित भएको चाँगेलीहरुको पाँचौं वृहत भेलाले चाँगे ताप्लेजुङ एकता सम्पर्क समाज नेपालको नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
समितिको अध्यक्षमा विजयराज आङ्बुहाङ, सहअध्यक्षमा सुमित्रा प्रसाई, उपाध्यक्षत्रयमा होम गौतम, शंकर थपलिया र प्रकाश आङ्बुहाङ, सचिवमा दुर्गाप्रसाद निरौला, सहसचिवमा पुण्यप्रसाद निरौला र कोषाध्यक्षमा सरिता लिम्बू रहेका छन् । चाँगेलीका भाञ्जा विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश आङ्बुहाङले सहभागीलाई स्वागत गर्दै चाँगेलीको एकता, आपसी सहकार्य, सहयोग आदानप्रदानका लागि संस्था लागिपरेको बताए ।
सो अवसरमा ८० वर्षमाथि उमेर समूहका २० जना वृद्धवृद्धालाई सम्मान गरिएको थियो । विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा च्याबु्रङ नाच, भजन कीर्तन, संगिनी नाच लगायत प्रदर्शन गरिएको थियो । चाँगेको सेरोफेरोलाई गीत समेत प्रस्तुत गरिएको थियो । अध्यक्ष विजय आङ्बुहाङले चाँगेबाट तराई झरेकाहरुलाई संगठित गर्दै दुःख सुखमा सहयोग आदानप्रदान गर्ने उद्देश्यले संस्था स्थापना भएको बताए ।



