
उर्लाबारी, २८ असोज
लामो समयको प्रतिक्षापछि शुद्ध पानी प्रयोग गर्न पाएपछि उर्लाबारीको मंगलबारेवासी हर्षित भएका छन् । नगरभरिका खानेपानी आयोजनालाई नगरपालिकाको मातहत ल्याउने कानुन उर्लाबारी नगरपालिकाले निर्माण गरेपछि मंगलबारे खानेपानीको व्यवस्थापन तथा सञ्चालनको जिम्मा उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई दिएको थियो । जिम्मेवारी पाएसँगै संस्थाले ४० लाख रुपैयाँ लगानी गरेर मंगलबारेबासीलाई २४ सै घण्टा शुद्ध खानेपानीको व्यवस्था गरेपछि उपभोक्ता खुसी भएका हुन् ।
उर्लाबारी–३ का नेत्र भट्टराईले भने, ‘पहिले राम्रो थिएन, आजभोलि सुधार भएको छ । खान योग्य पानी आएको छ ।’ यस्तै, उपभोक्ता सरस्वती घिमिरेले पैला लेदो आउने पानी अहिले शुद्ध आएको खुसी व्यक्त गरिन् । उपभोक्ताहरु कृष्ण भण्डारी, भीम विक, लिलानाथ गौतमले पनि शुद्ध पानी उपभोग गर्न पाएकोमा संस्थालाई धन्यवाद व्यक्त गरे ।
उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यालय प्रमुख राजु बुढाथोकी जेनेरेटर राख्ने भवन, जेनेरेटर, फिल्टर मिडिया, सिसि क्यामेरा जडान, इन्टरनेटको व्यवस्था गरेपछि शुद्ध खानेपानी वितरण गर्न सकिएको बताउँछन् । यस्तै, प्रशोधन यन्त्रमा सुधार, कार्यालय परिसर सरसफाई र रंगरोगन, विद्युत लाईन, काउण्टर व्यवस्थापन, चेम्बर निर्माणलगायतका कार्य गरेको प्रमुख बुढाथोकीले जानकारी दिए ।
यी कार्य पश्चात गत सातादेखि उर्लाबारी वडा नं. २, ३ र ४ का ६६२ उपभोक्ताका धारामा शुद्ध पानी वितरण गर्न सकिएको उपभोक्ता संस्थाका अध्यक्ष चिन्तामणि पौडेलले बताए । खानेपानी शुद्ध भएका कारण ढुक्क भएर पानीको उपभोग गर्न अध्यक्ष पौडेलले आग्रह गरे । संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न कर्मचारी व्यवस्थापनको काम भएको बताउँदै कार्यालय प्रमुख बुढाथोकीले कार्तिक १ गतेदेखि मिटर रिडिङ गरी महसुल उठाउन थालिने बताए । २ लाख २५ हजार लिटर क्षमताको मंगलबारेको ट्याङ्कीबाट १५ सय धारासम्मलाई पानी वितरण गर्न सकिने उनले बताए ।