About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ असोज
जीवन बचाउ उपचार सेवा गृह उर्लाबारीले एक वर्षमा २१९ जना दुर्व्यसनीको उपचार गरेको छ । लागुऔषध तथा मादक पदार्थको कुलतमा फसेकाहरुलाई उपचार गराउँदै आएको उर्लाबारी–७ स्थित सो केन्द्रले गत आर्थिक वर्ष २०७८।०७९ मा नेपालका विभिन्न स्थानबाट आएका २१९ जनाको उपचार गरेको जनाएको छ ।
विहिबार आयोजित संस्थाको १७ औं साधारणसभामा अध्यक्ष शेरबहादुर कार्कीले दुर्व्यसनीमा फसेकाहरुलाई उपचारात्मक, सुधारात्मक उपाय तथा सभ्य नागरिक बनाउने उद्देश्यले स्थापना भएको संस्थाले १७ वर्षको अवधिमा दुई हजार जनाभन्दा बढीको उपचार गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले दुर्व्यसनीमा फसेकाहरुलाई मनोवैज्ञानिक तवरले सुधारात्मक उपाय अपनाई उपचार गर्नुपर्ने बताए । यातना दिएर नभई उपचारको महसुस हुने किसिमले सुधारात्मक कार्य गर्नुपर्ने उनको भनाई थियो । गृहका इञ्चार्ज रविन्द्रप्रसाद दाहाले यहाँ उपचार पाएका बिरामीहरु उपचारपछि असल कर्ममा लागेको बताउँदै भने, ‘नयाँ जीवन पाएसँगै कोही व्यापार, कोही वैदेशिक रोजगारी, कोही राजनीति त कोही सरकारी जागिरे भएका छन् ।’ हाल २९ जना बिरामी उपचाररत रहेको उनले बताए ।
यहाँ मोरङ, सुनसरी, झापा, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, सप्तरी, इलाम, काठमाडौं, उदयपुरदेखि लिएर भारतको वृन्दागुडी, दार्जिलिङलगायतका बिरामी उपचाररत रहेको उनले बताए । साधारणसभामा कोषाध्यक्ष पवन थापाले ४८ लाख ५६ हजार २८५ रुपैयाँ बराबरको आम्दानी र खर्चको विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापा, राप्रपा नगर अध्यक्ष देवीप्रसाद दाहाल, गृहका सल्लाहकारहरु मानबहादुर श्रेष्ठ, जयधर्म आचार्य, बानु सुब्बा, राजेन्द्रप्रसाद पौडेल, विद्या चाम्लिङलगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाकी सचिव अम्बिका निरौलाले स्वागत मन्तव्य राखेको कार्यक्रम अध्यक्ष शेरबहादुर कार्कीको सभापतित्वमा भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय