About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ११ साउन । फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा आज दिउँसो एक किशोरको हत्या भएको छ ।

छुरा प्रहार गरेर उर्लाबारी–८ का १७ वर्षे अभिशेक चौधरीको हत्या गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो १ः१५ बजेतिर भएको छुरा प्रहारबाट अभिशेष गम्भीर घाइते भएका थिए । ढाड लगायत शरीरका विभिन्न भागमा छुरा हानिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि पुर्याउनसाथ झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालका चिकित्सकले मृत घोषित गरेको श्रेष्ठको भनाइ छ । उहाँका अनुसार स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला छ/सात जनाको समूहमा रहेका युवाहरुले अभिशेकमाथि छुरा हानेका हुन् ।

छुरा प्रहार र आक्रमणबाट अभिशेकसँगै रहेका २१ वर्षीय सुशन धामी पनि घाइते भएका छन् । छुरा प्रहारबाट सुशनको पनि शरीरका विभिन्न भागमा चोट लागेको डिएसपी श्रेष्ठको भनाइ छ । अवस्था मध्यम रहेका उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले घटनामा संलग्न भएको आशंकामा दुई युवालाई नियन्त्रणमा लिएको छ । प्रहरीले १८ वर्षे निशान राई र पवन कार्कीलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ ।

घटनामा संलग्न अरु युवाहरु फरार रहेका कारण खोजी भइरहेको जानकारी डिएसपी श्रेष्ठले दिए । उहाँका अनुसार युवाहरुबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद एवं झगडा भएको खुलेको छ । विवाद त्यतिबेलै मिलाइएको भए पनि रिसइबी साँधेर बसेको समूहले भने भोलिपल्ट अर्को पक्षका किशोरको हत्या नै गरिदिएको श्रेष्ठको भनाइ छ । उहाँले घटनाका बारेमा गम्भीर ढंगले अनुसन्धान थालिएको जानकारी दिनुभयो । प्रदेश प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय