
उर्लाबारी, २३ असोज
नेपालीहरुको महान पर्व बडादसैँ आजबाट समापन हुँदैछ । आज कोजाग्रत पूर्णिमाको दिन धनधान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रीमा जाग्राम बसेपछि दसैँ समापन हुँदैछ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे बताइन्छ ।



