
उर्लाबारी, २२ असोज
मोरङ क्षेत्र नं. १ मा नेकपा एमालेबाट प्रत्यक्ष उम्मेद्वारको आकांक्षा राखेकी शिवमाया तुम्बाहाङ्फेले पार्टीको आधिकारिक उम्मेद्वारलाई निर्वाचित गराउनु पार्टी नेता कार्यकताको दायित्व भएको बताएकी छिन् । आज एक अपिल सार्वजनिक गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेकी उनले उम्मेदवारी निर्णय गर्नुअघिसम्म आफ्नो दाबी रहे पनि अब घनश्याम खतिवडा पार्टीको आधिकारिक उम्मेदवार भइसकेको सन्दर्भमा उनलाई निर्वाचित गराउनु पार्टीका नेता कार्यकर्ताको दायित्व भएका बताएकी हुन् ।
शिवमाया तुम्बाहाङ्फेले जारी गरेको अपिल
अपिल
नेकपा (एमाले) का तर्फबाट मैले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ मोरङ क्षेत्र नम्बर १ मा उम्मेदवारको आकांक्षा व्यक्त गरेको आम मतदाता, पार्टीका नेता कार्यकर्ता एवं शुभचिन्तकहरुलाई जानकारी नै छ । तर, हाम्रो पार्टीले निवर्तमान सांसद क. घनश्याम खतिवडालाई पुनः उम्मेद्वार बनाउने निर्णय गरेको छ । उम्मेदवारी निर्णय गर्नुअघिसम्म दाबी रहे पनि अब क. घनश्याम खतिवडा पार्टीको आधिकारिक उम्मेदवार भइसकेको सन्दर्भमा उहाँलाई निर्वाचित गराउनु पार्टीका नेता कार्यकर्ताको दायित्व हो । स्थायी कमिटी सदस्यको नाताले म पार्टीको निर्णयप्रति पूर्ण समर्थन जनाउँदछु । आजका दिनदेखि नै व्यक्तिगतरुपमा म प्रति शुभेच्छा राख्नुहुने मतदाता, पार्टी कार्यकर्ता र शुभेच्छुकहरुलाई पार्टीका उम्मेदवार कमरेडलाई निर्वाचित गराउन भूमिका खेल्नुहुन अपिल गर्दछु । पार्टीका उम्मेदवारलाई जिताउने अभियानमा र पार्टी काममा तपाईंहरुसँग निरन्तर भेट हुने नै छ । प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार कमरेडहरुलाई शुभकामना एवं विजयका लागि अग्रीम शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
डा. शिवमाया तुम्बाहाङ्फे
स्थायी कमिटी सदस्य
नेकपा (एमाले)
२२ असोज, २०७९ (मोरङ)