About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जगन्नाथ भट्टराई
उर्लाबारी, ११ साउन
मोरङको उर्लाबारी–३ किसान चौकको विनय च्याउ देशैभरि परिचित भएको छ । समाजसेवी एवम् व्यवसायी उदयचन्द्र श्रेष्ठले सञ्चालन गर्नुभएको सो च्याउ उद्योग एकाएक परिचित र लोकप्रिय भएको हो । झन् सो उद्योगले केही वर्षअघि उत्कृष्ट च्याउ उत्पादन गरेको भन्दै राष्ट्रपति पुरस्कार प्राप्त गरेपछि झन् विनय च्याउको गरिमा बढेको हो । पूर्वी नेपालमा गुणस्तरीय र व्यवसायिक च्याउ खेतीतर्फ अब्बल देखिएको विनय च्याउको प्रगति, चर्चा, लोकप्रियता दिनदिनै अघि बढ्दै गएको छ ।
यहाँबाट उत्पादित च्याउको स्वाद पूर्वी नेपालका ठूल्ठूला डिपार्टमेन्ट स्टोर, होटलदेखि लिएर सर्वसाधारणले समेत चाख्दै आएका छन् । राजमार्गसँगै किसान चौकमा विनय कम्प्लेक्सको स्थापना भएसँगै च्याउ किनबेच गर्न अत्यधिक सजिलो भएको छ । च्याउ बिक्री वितरणको अतिरिक्त च्याउबाट बनेका अचार, सुकुटी समेत यहाँ उपलब्ध हुने गरेको छ ।
कृषि पेसा अंगालेर च्याउमै लोकप्रियता प्रसंसा र पुरस्कृत, सम्मानित हुनुभएका सञ्चालक श्रेष्ठले चार विघाभन्दा बढी जग्गा लिजमा ७ वर्षका लागि लिएर टहरा निर्माण गरी च्याउ उत्पादन गर्दै आउनुभएको छ । अहिलेको बेरोजगारी समयमा चार दर्जनलाई काम दिएर उहाँले स्थानीयलाई रोजगार प्रदान गर्नुभएको छ । यसैगरी, बेला बखतमा अपाङ्गता भएकाहरुलाई तालिम, प्रशिक्षण, सहयोग प्रदान गरेर सञ्चालक श्रेष्ठ मानवीय एवम् सामाजिक कार्य गर्दै आउनु भएको छ । विभिन्न समस्या र चुनौतीका बीच पूर्वी नेपाल अर्थात् १ नं. प्रदेशभरि विनय च्याउले ग्राहकलाई आफ्नो उत्पादन चखाउन सफल भएको छ । ‘ऊ बेला दिनमा १३ सय केजीभन्दा बढी उत्पादन हुन्थ्यो’ विगतको खुसी सञ्चालक श्रेष्ठ सुनाउनुहुन्छ । युवा अवस्थामा विदेश जाने तरखर छोडेर च्याउ उत्पादनमा लाग्नु भएका श्रेष्ठले अरुलाई समेत कृषिमा भविष्य रहेको पाठ सिकाउनु भएको छ ।
अहिले उहाँको उत्पादन देखर भनिन्छ, ‘च्याउ भनेकै विनय हो ।’ समाजसेवी, व्यवसायी, असल, कुशल र उत्साहित तथा जागरुक उदयचन्द्र विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । उहाँको समाजसेवाको लगाव र सहयोगको चौतर्फी तारिफ गरिँदै आएको छ । उहाँको सहयोगकै कारण पुरस्कार, प्रसंसा र सम्मान बढ्दै गएको छ । विनय च्याउ र सञ्चालक श्रेष्ठलाई राष्ट्रले चिनिसकेपछि यस उद्योगमा कृषि मन्त्रीदेखि लिएर कृषि, राजनीतिक सामाजिक र उच्च तहका व्यक्तित्वहरु बेला बखतमा यहाँ आउने गरेका छन् । च्याउको उत्पादन, वितरण, गुणस्तरीय र लोकप्रियताको अध्ययन, अवलोकनका लागि नेतादेखि मन्त्री र कृषि क्षेत्रका विज्ञहरुले विनय च्याउ आएर उद्योगको तारिफ गर्दै आएका छन् ।
कृषि पेसा सामान्य पेसा होइन । कृषि व्यवसायले धेरै किसानहरुको जीविकोपार्जनमा टेवा पु¥याएको छ । यही पेसामा लागेर कति कृषकहरुले अहिले राम्रो आम्दानी गरी आपूmलाई समेत व्यापार व्यवसायमा परिचित गराउन सफल भएर नाम, दाम दुवै कमाउनुभएको छ । त्यसैको गतिलो उदाहरण बन्नुभएको छ उदयचन्द्र श्रेष्ठ । ताप्लेजुङको खेबाङबाट काठमाडौँ हुँदै इराक जस्तो डरलाग्दो मुलुकमा जाने सपनालाई चटक्कै भुलेर आफ्नै देशको कृषि पेसामा निर्भर भएर च्याउ खेती गरी आपूmलाई राम्रो कृषकको रुपमा परिचित गराउन उहाँ अहिले सफल हुनुभएको छ । आफ्नो भाइ आषिशले सुरु गरेको च्याउ खेतीबाट प्रभावित भएर सुरुमा ऋणपान गरेर उदयचन्द्रले पनि च्याउ खेतीको व्यवसायलाई निरन्तरता दिनुभएको हो । च्याउको बजार अवस्थाको बारेमा जिज्ञासा राख्दा अन्य व्यापार व्यवसायभन्दा छिटो छरितो, प्रतिस्पर्धा कम र माग बढी भएकाले च्याउको बिक्री वितरण गर्न सजिलो भएको तर भारतबाट आउने च्याउले नेपाली बजारमा कहिलेकाहीँ उतारचढाब ल्याउने गरेको उदयचन्द्रले बताउनुभयो ।

उदयचन्द्र श्रेष्ठ, सञ्चालक विनय च्याउ उद्योग

दर्जनौं कामदारलाई समेत सफल रोजगारी दिएर सञ्चालन गर्दै आएको उर्लाबारीको विनय च्याउ उद्योग पूर्वी नेपालको रहर लाग्दो आकर्षक र वृहत च्याउ खेतीको रुपमा अहिले परिचित छ । विभिन्न जातका च्याउ उत्पादन गर्ने यस उद्योगले राम्रो बजार भाउमा च्याउ र च्याउको अचार आफ्ना ग्राहकलाई प्रशोधन केन्द्र खोली बिक्री गर्दै आएको छ । विनय च्याउ उद्योगमा तरकारीको रुपमा खाने ताजा च्याउको साथसाथै मुखै रसाउने च्याउको अचार किन्न दमक, उर्लाबारी, पथरी, इटहरी, धरान, विराटनगर लगायत पूर्वी क्षेत्रका अन्य मानिसहरु आउने गरेको उदय चन्द्रले बताउनुभयो ।
अन्य किसानहरुको च्याउलाई पनि बिक्री वितरण तथा च्याउ खेती परामर्शमा सहयोग गर्दै आउनुभएका उदयचन्द्रले च्याउको लागि अति आवश्यक पर्ने पराल र बाँसको खरिद लगायतमा पनि विशेष ध्यान दिने गर्नुभएको छ । विनय च्याउ उद्योगमा भएको च्याउको विउँ, च्याउको सुकुटी, स्वादिष्ट अचारलाई कसैले पनि प्रयोग गरेपछि विर्सन सक्दैनन् । विवाह, वनभोज लगायत अन्य पाटी विशेषमा यस उद्योगको च्याउले राम्रो ठाउँ पाउने गरेकोले च्याउ खेतीलाई निरन्तरता दिएर आफ्नै स्वदेशको कृषि पेसामा रमाएर अझै यस व्यवसायलाई विकास र विस्तार गर्ने सोच रहेको उदयचन्द्रले उल्लेख गर्नुभयो ।
पराललाई काटेर तातोपानीले सफा गरी विशेष प्रकारले प्लाष्टिकमा प्याकिङ्ग गरेर च्याउको बिउ छोडेको केही दिनमा च्याउ उमरिने गर्दछ । च्याउको मुख्य सिजन असोज पछिको जाडो महिना हो । गर्मीमा भन्दा जाडोमा च्याउको बढी माग हुन्छ । खाने र नखाने च्याउ आकार प्रकार स्वाद र रङ्बाट पनि छुट्याउन सकिने भएकाले जंगली च्याउ हानीकारक हुने हुँदा त्यसबाट जोगिएर बगानमा लगाएको खाने च्याउ मात्र ढुक्कसँग प्रयोग गर्न हुने उदयचन्द्रले बताउनुभयो । राष्ट्रपति कृषक पुरस्कार, जिल्ला कृषि विकास कार्यालय मोरङ लगायत अन्य आधा दर्जनभन्दा बढी संघसंस्थाबाट उत्कृष्ट र मेहेनति कृषकको रुपमा उहाँले मान सम्मान र पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँको च्याउ बगानमा ग्राहक लगायत सल्लाह सुझावका लागि कृषकहरु टाढाबाट आउने गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय