About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ७ साउन
नेपाल पत्रकार महासंघ मोरङले उत्तरपूर्वी मोरङका पाँच पालिकाका पाँच वटा शैक्षिक संस्थामा आम सञ्चार र पत्रकारिता विषयको पठनपाठन सुरु गर्न माग गरेको छ । बिहिबार महासंघ मोरङको टोलीले सम्बन्धित शैक्षिक संस्थामै पुगेर ज्ञापनपत्र बुझाएको छ ।
महासंघको टोलीले उर्लाबारीको उर्लाबारी बहुमुखी क्याम्पस, पथरीशनिश्चरेको पञ्चायत मावि, लेटाङको शान्ति भगवति मावि, सुन्दरहरैचाको सुकुना मावि र बेलबारीको भगवती माविमा ज्ञापनपत्र बुझाएको हो । महासंघले कक्षा ११ र १२ मा आम सञ्चार र पत्रकारिता विषयको पठनपाठन सुरु गर्न माग गरेको हो ।
पूर्बी मोरङका कुनै पनि शैक्षिक संस्थामा पत्रकारिता विषय पठाइ नभएको कारण जिल्लामा कार्यरत पत्रकारहरु अधिकांश तालिम र अभ्यासको भरमा पत्रकारिता गर्दै आएका छन् । तल्लो तहमा पत्रकारिता पढ्न नपाएको कारण अन्य बिषयमा स्नातक, स्नाकोत्तर गरेर विभिन्न मिडियाहरुमा काम गर्दै आएका छन् । राज्यको चौथो अंग मानिएको पत्रकारिता विद्यालय तहदेखि नै अध्यापन गर्नु आवश्यक रहेको ठहर गर्दै ज्ञापन पत्र बुझाइएको उपाध्यक्ष भट्टराईले बताए ।


ज्ञापन पत्र बुझाउन नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, सहसचिव प्रशान्त निरौला, सदस्यहरु तेजन खड्का, सुरेस अधिकारी, नवराज भट्टराई, बबिता राई, दिपा धिमाल, प्रदेश पार्षद ज्योति चौहान, निवर्तमान जिल्ला सदस्य सुमन घिमिरे, अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराई, पत्रकार केशव निरौला, भूमिप्रसाद पाठक, अनु निरौला लगायत सहभागी भएका थिए । टोलीमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई, प्रेस चौतारीका प्रदेश सदस्य केदार चौहानको पनि सहभागिता रहेको थियो ।
ज्ञापनपत्र बुझ्ने क्रममा उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुख बेधराज भट्टराईले बिषय थप गरेर पत्रकारिता राख्ने प्रयास गर्ने बताए । पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले पत्रकारिता विषय थप्न समस्या नहुने बताए । एउटा विषय मात्र थप्दा विद्यालयलाई ठूलो ब्ययभार पनि नपर्ने भएकोले सल्लाह गरेर निर्णय लिने बताए ।
लेटाङको शान्ति भगवति माविका प्रधानाध्यापक श्रीप्रसाद ढकालले विद्यालयमा विषयहरु थप्ने कुरा भइरहेकाले पत्रकारिता थप्न सकिने बताए । त्यसैगरी सुन्दरहरैचाको सुकुना माविका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले नागरिकको चेतना वृद्धि र विकृति विसंगति नियन्त्रणका लागि पनि पत्रकारिता विषय आवश्यक रहेको बताए । श्रेष्ठले पत्रकारिता विषय थप गर्ने सम्बन्धमा विद्यालयको ध्यान केन्द्रित भएको बताए ।
अधिकांश शैक्षिक संस्थाका प्रमुखबाट पत्रकारिता बिषय थप गर्न सकारात्मक प्रतिक्रिया प्राप्त भएको नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराईले बताए । संघीय गणतन्त्र स्थापनापछि गठन भएको स्थानीय तहलाई पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक प्रकाशनको साथै बिषय थप्ने, घटाउने अधिकार भएकोले शैक्षिक संस्था र सम्बन्धित स्थानीय तहले चाहेमा पत्रकारिता विषय थप्न समस्या नहुने टोलीमा संलग्न नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राईको भनाइ छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय