About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लेटाङ, ५ असोज

मोरङको लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावतीले चुनावी घोषणापत्रमा बालिका बचत कार्यक्रमलाई प्राथमिकता दिएका थिए । लेटाङ नगरपालिकाको पहाडी भूगोलमा बालिकाहरुले बिचमै पढाइ छाड्ने तथा कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा पढ्न नपाउने अवस्था राम्ररी बुझेका उनले नगर प्रमुखमा निर्वाचित भए लगत्तै बालिका बचत कार्यक्रमलाई अघि बढाउन लागिपरे ।

अहिले कार्यविधि बनाएर यो कार्यान्वयनमा गइसकेको छ । जसमा नगरका पहाडी भूगोल भएका वडामा अब जन्मिने बालिकाहरुको नाममा बैंक खाता खोली वार्षिक २ हजारका दरले नगरपालिकाले १६ वर्षसम्म रकम जम्मा गरिदिनेछ । यसरी नगरपालिकाले जम्मा गरिदिएको रकममा अभिभावकले पनि रकम थप गर्न सक्नेछन् भने सो रकम बालिकाले एसइइ उत्तीर्ण गरेर कक्षा ११ मा भर्ना हुने समयमा मात्र निकाल्न पाउनेछन् । यसबाट नगरको पहाडी वडाका बालिकाहरुले बिचैमा पढाइ छाड्ने समस्या समाधान हुने तथा आर्थिक अभावका कारण एसइइ पछिको अध्ययन पुरा गर्न समस्या भएका बालिकाहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको नगर प्रमुख लावतीले बताए ।

यो मात्र होइन, लेटाङ नगरपालिकाका नयाँ जनप्रतिनिधिले छोटो अवधिमा शिक्षा क्षेत्रमा महत्वपूर्ण ४ वटा कामको थालनी गरेका छन् । बालिका बचत कार्यक्रम, आमाबुबाविहिन बालबालिकाहरुलाई निःशुल्क शिक्षा, स्थानीय पाठ्यक्रम अध्यापनको सुरुवात र लिम्बू बाहुल्य क्षेत्रका विद्यालयमा लिम्बू भाषामा पठन पाठनका लागि तयारी सुरु गरिएको उपप्रमुख कृष्णकुमारी निरौलाले बताइन् ।

यसैगरी नगरभरिका आमाबुबा विहिन बालबालिकाहरुलाई नगरपालिकाले निःशुल्क अध्ययन गराउने कामको पनि सुरुवात गरेको छ । सरकारले विद्यालय तहको शिक्षा निःशुल्क भने पनि पूर्णरुपमा कार्यान्वयन नभएकाले शिक्षाको उज्यालो घामबाट नगर भित्रका कोही पनि बालबालिका बञ्चित नहोउन् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु गरिएको उपप्रमुख निरौलाको भनाइ छ ।

बालबालिकाहरु आफ्नै ठाउँ बारे अनविज्ञ नहोउन् र आफ्नो ठाउँको प्रचार प्रसार होस् भन्ने उद्देश्यका साथ लेटाङ नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी सबै विद्यालयमा पठन पाठन समेत सुरु गरेको प्रमुख लावतीले बताए । यस्तै लेटाङ नगरपालिकाका लिम्बू जातिको बाहुल्य रहेको क्षेत्रका विद्यालयमा लिम्बू भाषाको पठन पाठन सुरु गर्ने उद्देश्यका साथ पाठ्यक्रम निर्माणको काम अघि बढाइएको उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय