About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ६ साउन
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा उपनिर्वाचनको तयारी थालेको छ । प्रदेशसभा र प्रतिनिधिसभामा रिक्त स्थानमा उपनिर्वाचनको मिति सरकारसँग छलफल गरेर तय गर्ने र त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग समय मागिएको आयोगले जनाएको छ ।
यो निर्वाचन हुँदा प्रदेश १ मा ताप्लेजुङ ‘ख’ मा प्रदेश सभाको निर्वाचन हुने छ । प्रदेशसभातर्फ माओवादी केन्द्रबाट निर्वाचित ताप्लेजुङ ‘ख’ बाट निर्वाचित टंक आङबुहाङ एमालेमा प्रवेश गरेपछि उनलाई माओवादी केन्द्रले कारवाही गरेको थियो । आङ्बुहाङ अहिले प्रदेश १ सरकारका आर्थिक मामिला मन्त्री रहेका छन् ।
देशभरमा अहिले प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ११ सदस्य पद रिक्त रहेका छन् । दल परिवर्तन गरेका कारण कारवाहीमा परेका र राजीनामा दिएका गरी उक्त संख्यामा पद रिक्त भएको हो । यी सबै स्थानमा उपनिर्वाचन गर्ने आयोगले तयारी गरेको छ । प्रतिनिधिसभातर्फ एमालेमा गएका कारण माओवादी केन्द्रले अर्घाखाँची–१ का टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीलाई कारवाही गरी पदमुक्त गराएको थियो ।
प्रदेश २ मा तीनजना प्रदेशसभा सदस्यको पद खाली छ । दल त्याग गरेर एमालेमा गएका कारण माओवादी केन्द्रले धनुषाका रामचन्द्र मण्डल, बाराकी ज्वाला साह र रौतहटका कुन्दनप्रसाद कुशवाहालाई कारबाही गरेको थियो । वागमती प्रदेशमा दोलखा ‘ख’ बाट निर्वाचित पशुपति चौलागाईंको कोरोनाका कारण मृत्यु भएको थियो ।
यस्तै, लुम्बिनी प्रदेशसभामा पनि ४ सदस्यको पद रिक्त भएको छ । दुई सांसदले दल त्याग गरेको र अरु दुईजनाले राजीनामा दिएका कारण त्यहाँ खाली भएको हो । एमालेका सांसद दाङका अम्बरबहादुर डाँगी र कपिलवस्तुका दीर्घनारायण पाण्डेले राजीनामा दिएका थिए । त्यस्तै प्रदेशसभा सदस्यद्वय रुपन्देहीका दधिराम न्यौपाने र गुल्मीका दिनेश पन्थी एमालेमा गएका कारण माओवादीले उनीहरुलाई कारवाही गरेको थियो । कर्णाली प्रदेशसभा सदस्य दैलेखका धर्मराज रेग्मी र सुदूरपश्चिम प्रदेशसभा सदस्य अछामका झपट बोहोरा एमालेमा गएका कारण माओवादीले कारवाही गरेको थियो । यी सबै स्थानमा उपनिर्वाचन हुने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय