
उर्लाबारी, १ असोज
उर्लाबारी घर भई हाल काठमाण्डौँमा रहेर कान्तिपुर दैनिकमा कार्यरत युवा पत्रकार गोविन्द पोखरेलले राष्ट्रिय विज्ञान पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । विज्ञान तथा प्रविधि पत्रकारितामा योगदान गरेको भन्दै विज्ञान तथा प्रविधि मन्त्रालयले उनलाई पुरस्कृत गरेको हो ।
१० औँ विज्ञान दिवसको अवसर पारेर शनिबार बीपी प्लानेटोरियम एन्ड अब्जर्भेटरीमा आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुरस्कार प्रदान गरेका हुन् । सो पुरस्कारको राशी रु २५ हजार रहेको छ । पोखरेल कान्तिपुर दैनिकमा विशेषतः विज्ञान विषयमा कलम चलाउँदै आएका छन् ।
यसअघि पोखरेललाई गत वर्ष नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले स्थापना गरेको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार २०७७ समेत प्रदान गरिएको थियो । उर्लाबारीबाट तत्कालिन रुपमा प्रकाशन हुँदै आएको निगरानी दैनिकबाट पोखरेलले पत्रकारिता सुरु गरेका थिए ।



