
उर्लाबारी, २९ भदौ
उर्लाबारीमा जन्मी हुर्की हाल काठमाडौंमा रहेका विज्ञहरुसँग उर्लाबारीको विकास र समृद्धिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा विज्ञहरुले उर्लाबारीको विकासका लागि राय प्रस्तुत गरेका छन् ।
सो अवसरमा नगर प्रमुख गंगाप्रसाद खरेलले आफूहरु निर्वाचित भएर आएदेखि हालसम्म गरेका कार्यहरु, समृद्ध उर्लाबारी बनाउन चालेका कदमका बारेमा जानकारी गराएका थिए । यस्तै, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले उर्लाबारीको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारेमा प्रष्ट पारेका थिए ।
त्यसपछि विज्ञहरुले उर्लाबारीको विकास र समृद्धिका लागि चाल्नु पर्ने कदमका बारेमा राय प्रस्तुत गरेका थिए । उर्लाबारीमा जन्मी हुर्की विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य विपिन निरौला, प्रा. डा. इन्द्रबहादुर कार्की, कृषि विज्ञ गणेशकुमार गुरुङ, सुरेन्द्र न्यौपाने, डा. दिलनाथ दंगाल, डा. नवराज खतिवडा, दिलिपकुमार श्रेष्ठ, डा. दानबहादुर कार्की, छत्रपति गुरुङ, यज्ञराज ढकाललगायतले सुझाव राखेका थिए ।
विज्ञहरुको सुझावलाई अनुशरण गर्दै समृद्ध उर्लाबारी बनाउन आफूहरु लागि पर्ने नगर प्रमुख खरेलले बताए । आगामी दिनमा पनि विज्ञहरुसँगको छलफललाई निरन्तरता दिने उपप्रमुख मीना खतिवडा पौडेलले बताइन् । उर्लाबारी नगरपालिकाले आयोजना गरेको अन्तरक्रियाको हल व्यवस्थापन र प्राविधिक सहयोग डा. नवराज खतिवडाले गरेका थिए । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नगर प्रमुखका स्वकीय सचिव हरि खतिवडाले गरेका थिए ।