About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लेटाङ, २९ भदौ
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित मोरङको लेटाङ नगरपालिकाका जनप्रतिनिधिहरुले १०० दिनमा गरेका कार्य प्रगति आज सार्वजनिक गरेका छन् । नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी नगर प्रमुख भुपेन्द्रकुमार लावतीले सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन् ।
निर्वाचनताका आफूहरुले राखको प्रतिवद्धता पूरा गर्न प्रतिबद्ध रहेको मेयर लावतीले बताए । पत्रकार सम्मेलनमा उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले पनि सय दिनका उपलब्धीका बारेमा विचार राखेका थिए ।
सय दिनमा लेटाङ नगरपालिकामा के कस्ता कार्य भए त ? हेर्नुहोस्ः
गत बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको १०० दिन पुरा भइसकेको छ । सुरुवाती १०० दिनमा जनप्रतिनिधिहरुले गरेका कामको आधारमा पुरा कार्यकाल कस्तो रहन्छ भनेर अनुमान तथा मूल्यांकन गर्ने गरिन्छ । सोही अनुसार लेटाङ नगरपालिकामा समेत नवनिर्वाचित जनप्रतिनिधिको सुरुवाती १०० दिन पुरा भएको छ ।
नगर प्रमुख भूपेन्द्रकुमार लावतीले गत जेठ ९ गते पदभार ग्रहण गर्दै गर्दा नगर क्षेत्र भित्रका अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरेर कार्यकालको सुरुवात गर्नुभयो । बालबालिकाहरुलाई सरकारले निःशुल्क शिक्षा प्रदान गर्ने भनिए पनि त्यो पूर्णरुपमा कार्यान्वयन नभएको अवस्थामा नगर क्षेत्र भित्रका अभिभावकविहीन बालबालिकाहरु शिक्षाको उज्यालो घामबाट बञ्चित नहोउन् भन्ने उद्देश्यका साथ घोषणा गरिएको यो कार्यक्रम हाल कार्यान्वयनमा गइसकेको छ । यस्तै निर्वाचनको घोषणापत्रमा समेत निकै महत्वका साथ उल्लेख गरिएको बालिका वचत कार्यक्रम पनि कार्यविधि बनाएर कार्यान्वयनमा गएको छ । खासगरी लेटाङ नगरपालिकाको पहाडी भूगोलमा बालिकाहरुले विचमै पढाइ छाड्ने तथा कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा पढ्न नपाउने अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम सुरु गरिएको हो । जसमा नगरका पहाडी भूगोल भएका वडामा अब जन्मिने बालिकाहरुको नाममा बैंक खाता खोली वार्षिक २ हजारका दरले नगरपालिकाले १६ वर्षसम्म रकम जम्मा गरिदिनेछ । जसबाट उनीहरुलाई उच्च शिक्षा हासिल गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
शिक्षा क्षेत्रतर्फ नै नगरपालिकाले अन्य २ वटा महत्वपूर्ण काम गरेको छ । लेटाङ नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माण गरी यसैवर्षदेखि नगरका सबै विद्यालयहरुमा पठनपाठन सुरु गरिएको छ । यस्तै नगरका लिम्बूभाषी बाहुल क्षेत्रका विद्यालयमा लिम्बू भाषा अध्यापन गराउने उद्देश्यले त्यसको पाठ्यक्रम निर्माणको काम समेत सुरु गरिएको छ ।
नयाँ नेतृत्व आएसँगै गरिएको अर्को नयाँ र महत्वपूर्ण काम भनेको विपद् जोखिमको पूर्वतयारी हो । खासगरि चिसाङ खोलको कटानको जोखिममा रहेका ठाउँहरुमा वर्षा सुरु हुनु अघि नै अनुगमन गरी तारजाली लगाएर रोकथाम गरियो । वडा नम्बर १ को बगुवा, ६ को लामीटार र वडा नम्बर ३ मा जोखिम रहेको क्षेत्रमा जोखिम नियन्त्रण गरिएको हो । जसका कारण यसपटक बाढीका कारण ठूलो क्षति हुनबाट जोखिएको छ ।
यसैगरी अघिल्ला वर्षहरुमा सम्झौता गरे भन्दा बढी समयसम्म ठूलो परिमाणमा खोला उत्खनन् हुने गरेकोमा यसवर्ष नयाँ नेतृत्व आएसँगै उत्खनन् क्षेत्रको नापजाँच गरी सम्झौता भन्दा बढी उत्खनन् गरिएको पाइएपछि त्यसमा तत्काल रोक लगाइएको छ । यस्तै बाढीले क्षति पु¥याएका तेली खोला, चिसाङ खोला र भलुवा खोलाबाट सञ्चालित पैनीका मुहानहरुलाई व्यवस्थित गरी तत्कालका लागि सहजरुपमा सिंचाइको प्रवन्ध मिलाइएको छ ।
लेटाङका पहाडी वडाहरुमा जाने सडकमा वर्षायाममा बाढी र पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुने गरेकोमा यसवर्ष अवरुद्ध भएका सडकहरु तत्काल सुचारु गरेर सहजता ल्याउने काम भएको छ । खासगरी लेटाङ ७ को समला र वारंगी जाने सडक अवरुद्ध हुँदा तत्काल अवरोध हटाएर सडक सुचारु गरिएको छ । यस्तै हरेक वर्ष हिलोका कारण अवरुद्ध हुने राजारानी आरूबोटे सडकको समस्याग्रस्त ठाउँमा नगरपालिकाको सहयोग र स्थानीयबासीको श्रमदानमा ढुंगा ओछ्याएर सहज बनाइएको छ । यसैगरी लेटाङ क्याम्पस अगाडिको बाटो विग्रिएका कारण विद्यार्थीहरुलाई आवत जावतमा समस्या भइरहेको बेला सो सडकमा उच्च स्तरीय ग्रावेल सम्पन्न गरिएको छ ।
लेटाङ नगरपालिकाले जनचाहना, जनअपेक्षा र चुनावी घोषणापत्रहरुलाई अधिक सम्बोधन गर्दै निर्धारित समयमै आर्थिक वर्ष ०७९÷०८० को बजेट प्रस्तुत गरेको छ । सरोकारवाला पक्षहरुसँग लामो छलफल गरी स्थानीय सरकार सञ्चालन ऐनमा तोकिए अनुसारको विधि प्रयोग गरी समयमै बजेट सार्वजनिक गरिएकाले त्यसबाट कार्य सम्पादन मूल्यांकनमा सकरात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । यसअघि सबै वडालाई एउटै आकारको बजेट छुट्याउने गरिएकोमा वडागत बजेट बाँडफाँटको मपदण्ड तय गरी कार्यान्वयन गरिएको छ । यसवर्षदेखि भूगोल, जनसंख्या लगायतका पक्षलाई ध्यानमा राखेर सोही अनुसार फरक फरक आकारमा बजेट छुट्याइएको छ ।
यस्तै, लेटाङ नगरपालिकामा पहिलो पटक वडा कार्यालयको नयाँ प्रशासनीक भवन निर्माण गरी सेवा सुरु गरिएको छ । लेटाङ नगरपालिका वडा नम्बर ४ को प्रशासनिक भवन अघिल्लो कार्यकालमै निर्माण सुरु गरिएको भएपनि पूर्णता नपाएको अवस्थामा नयाँ नेतृत्व आएसँगै आवश्यक बजेट व्यवस्थापन गरी भवनलाई पूर्णता दिएर सेवा समेत सुरु गरिएको हो ।
नगरपालिकाले नगरवासीको सहजताका लागि अर्को महत्वपूर्ण काम गरेको छ । वडामा हुने विभिन्न पूर्वाधार निर्माणका काम गर्न दर्जनौ पटक नगरपालिका धाउनु पर्ने नगरवासीको बाध्यता हटाउन नगरमा केन्द्रित हुँदै आएका प्राविधिकहरुलाई वडा वडामा खटाएर सहजता ल्याउने काम गरिएको छ । यस्तै वडावासीको सहजताका लागि वडा कार्यालयको अगुवाईमा वडा नम्बर १ र ३ मा विभिन्न सेवासहितको घुम्ति शिविर सञ्चालन गरिएको छ ।
यसैगरी नगरपालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राख्दै कृषि प्रयोगशाला र भेटनरी अस्पताल सञ्चालनको काम पनि अघि बढाएको छ । यसैगरी नगरका वंगुपालक कृषकहरुको समस्या सामाधानमा पहल गर्ने उद्देश्यका साथ वंगुरका खोससम्मै पुगेर कृषकहरुसँग उनीहरुको समस्या पहिचान गर्ने र सामाधनका उपाय खोज्ने प्रयास समेत गरिएको छ । लेटाङ नगरपालिका हुँदै पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गको काम रोकिएकोमा नगरपालिकाले आवश्यक सहजीकरण गरेपछि काम सुरु भएको छ । नगरका विभिन्न ठाउँमा देखिएका समस्या समाधानमा समन्वय गर्ने तथा निर्माण कार्यको गुणस्तरीयताको समेत अनुगमन गरिएको छ । नगरको नेतृत्वमा सर्वदलीय अनुगमन गरी कामलाई गति प्रदान गरिएको हो । नगरको यो कामको सर्वत्र प्रशंशा गरिएको छ ।
लेटाङ नगरपालिकाले पर्यटन विकास र सौन्दर्यकरणलाई समेत विशेष प्राथमिकतामा राखेर काम गरेको छ । खासगरी डम्पिङ साइटको रुपमा प्रयोग भइरहेको नगरको मुख्य प्रवेश मार्गको सौन्दर्यकरणको काम अघि बढाइएको छ । लेटाङ कानेपोखरी सडकको गंगेचौकदेखि दक्षिण करिव १ किलोमिटर क्षेत्रमा सडक फराकिलो बनाएर विभिन्न प्रजातिका फूलका विरुवा रोप्ने काम सम्पन्न भएको छ ।
अब त्यस क्षेत्रमा थप संरचना निर्माण गरी पर्यटकीयस्थलको रुपमा विकास गर्ने नगरको योजना छ । यसरी नगरपालिकाले सडक सौन्दर्यकरणको काम सुरु गरिरहँदा स्थानीयबासी, सामुदायिक वन समूहहरु र वन कार्यालयको समेत ठूलो सहयोग प्राप्त भएको छ । यसै अभियानलाई पछ्याउँदै वडा नम्बर ४ को विभिन्न क्षेत्रमा पनि स्थानीयबासी स्वतस्फूर्त रुपमा सडक सौन्दर्यकरणमा जुटेका छन् । यस्तै वडा नम्बर २ को प्रवेश मार्गमा पनि स्थानीयवासीको सहभागितामा सौन्दर्यकरणको काम अघि बढाइएको छ । पर्यटन विकासकै लागि लेटाङ १ को लोखरादेखि पर्यटकीयस्थल राजारानीसम्म जाने पुरानो पैदल मार्गलाई पर्यटन पदमार्गको रुपमा विकास गर्ने कामको थालनी गरिएको छ । नगरको योजना अनुसार स्थानीयवासीको जनश्रमदानबाट काम अघि बढाइएको हो ।
लेटाङ १ कै कात्तिके नजिकै रहेको झाँक्री गुफा क्षेत्रलाई पनि पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि जग्गा प्राप्तिको काम अघि बढेको छ । यसैगरी लेटाङ नगरपालिका वडा नम्बर ७ को पर्यटन विकासका लागि गुराँस संरक्षण तथा पर्यटकीय स्थल प्रवर्धन कार्यक्रम सुरु गरिएको छ । सो क्षेत्रको पर्यटन विकासका लागि गुराँसको वृक्षारोपण गरिसकिएको छ ।
यसैगरी लेटाङ नगरपालिकाको वडा नम्बर १ बथाहामा अवश्यक बजेट विनियोजन गरी विजुली वत्ति बाल्ने काम भएको छ । यतिका वर्षसम्म विजुली नपुगेको बथाहमा नयाँ नेतृत्व आएको ३ महिनामै बिजुली बालिएको हो । यसैगरी वडा नम्बर ७ को मलिबासे क्षेत्रमा पनि विद्युतीकरणको काम सुरु गरिएको छ । यस क्षेत्रमा पनि दशैं अघि नै विद्युतिकरणको काम सक्ने नगरपालिकाको योजना छ । यस्तै वडा नम्बर ७ को समला टोलमा खानेपानी आयोजना सञ्चालनका लागि काम सुरु गरिएको छ । लेटाङ नगरपालिकाले नगर क्षेत्रभित्रका मुख्य सडकमा जथाभावी रुपमा सामग्रीहरु हटाउने काम पनि सुरु गरेको छ । नगरले २ पटकसम्म सामग्री हटाउने सूचना जारी गरेर काम थालेको छ ।
लेटाङ नगरपालिकाभित्रका प्रतिभाहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने काम पनि गरेको छ । देशकै चर्चित मूर्तिकार लेटाङ २ निवासी नवीन सुवेदी र हिपहप संगीतको रियालीटी सोका बिजेता भाइबर साइमनलाई सम्मान गर्दै हौसला प्रदान गर्ने काम गरेको छ । यस्तै लेटाङ २ स्थित लक्ष्मी माध्यमिक विद्यालयलाई उत्कृष्ट विद्यालयको रुपमा छनौट गरी नगद २ लाख पुरस्कार प्रदान गरिएको छ । यसैगरी नगरको नियमित कार्यक्रम अन्तरगत लेटाङ नगरपालिका भरीबाट उत्कृष्ट कृषक छनौट गरी पुरस्कृत गरिएको छ । कृषकहरुलाई प्रोत्साहन गर्न वडाबाटै कृषि सामग्री वितरणको काम पनि गरिंदैछ ।
यस्तै लेटाङ नगरपालिकाले भर्खरै शव वाहन सञ्चालनमा ल्याएको छ । घरदेखि घाटसम्म निःशुल्क सेवा दिने उद्देश्यले शववहान खरिद गरि सञ्चालन सम्बन्धि कार्यविधि बनाएर सेवा सुरु गरिएको हो । स्वास्थ्य विमा कार्यक्रममा देखिएको असहजता हटाउनका लागि स्वास्थ्य विमा वोर्ड गठन गरिएको छ भने प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा रुपान्तरण गर्ने प्रक्रिया सुरु गरिएको छ । जहाँ १५ वेडको अस्पताल निर्माण गर्ने उद्देश्यका साथ आवश्यक सामग्रीहरु खरिद गरिंदैछ भने संघीय सरकारसँग आवश्यक जनशक्तिको माग गरिएको छ ।
माथि उल्लेख गरिएका बाहेक नगरपालिकाले अन्य धेरै साना साना काम गरेको छ । अपांगता भएका नागरिकहरुलाई सहायता सामग्री वितरण, बाढी पीडिहरुलाई राहत वितरण, आर्थिक रूपमा विपन्न नागरिकलाई औषधी उपचार तथा अध्ययन खर्च र विपन्न नागरिकलाई खाद्यान्न उपलब्ध गराउने काम पनि भएको छ । यस्तै नगरवासीमा सूचनाको हकको प्रत्याभूति दिलाउन नगरपालिका बाहिर डिजिटल सूचना बोर्ड राखिएको छ । यसैगरी नगरको न्याय समिति अन्तरगत विभिन्न वडामा रहेका मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धिका लागि अभिभुखिकरण कार्यक्रम पनि सम्पन्न गरिएको छ ।
यसबाहेक नगरपालिकाका विभिन्न कार्यक्रमहरु अघि बढाउन त्यससम्बन्धि ऐन, नियमावली र कार्यविधिहरु निर्माण गरिएको छ । खेलकुद विकास ऐन २०७९, लेटाङ नगरपालिका शव वाहन सञ्चालन कार्यविधि २०७९, लेटाङ नगरपालिका स्वास्थ्य विमा संयोजन समिति गठन सञ्चालन कार्यविधि २०७९, लेटाङ नगरपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन नियमावली, लामो समयसम्म श्रीमानसँग अलग भएका विपन्न महिलाहरुको जीवनस्तर अभिवृद्धि कार्यक्रम कार्यविधि, आमा बाबु विहिन बालबालिकाहरुलाई निःशुल्क शिक्षा कार्यान्वयन कार्यविधि र बालिका शिक्षा कार्यविधि निर्माण गरिएको छ भने लेटाङ नगरपालिका विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, लेटाङ नगरपालिका न्यायिक समिति ऐन र लेटाङ नगरपालिका शैक्षिक व्यवस्थापन कार्यविधि संशोधन गर्ने काम गरिएको छ । यसैगरी भूमिहिन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने काम सम्पन्न भएको छ भने चाँडै त्यसको अन्य प्रक्रिया पनि अघि बढाइँदैछ । यस्तै गरिव घरपरिवार पहिचानको काम पनि सम्पन्न भएको छ ।
सुरुवाती सय दिनमा नगरपालिकाले खासगरी पर्यटन विकास, विपद् जोखिम नियन्त्रण, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतिकरण, पूर्वाधार मर्मत र ऐन कानुन निर्माण लगायत क्षेत्रमा महत्वपूर्ण काम गरेको छ । यस्तै जनसरोकारका विषयमा तत्काल जवाफदेहिता प्रकट गरी आवश्यक समन्वय गर्ने परिपाटीको विकास भएको छ भने सुशासन, मितव्ययीता र पारदर्शीतालाई प्राथमिकतामा राखिएको छ । नगरको विकासमा नगरवासीलाई अपनत्व जगाउने काम गरिएको छ । चाहे लेटाङ कानेपोखरी सडक सौन्दर्यकरण होस् वा लोखरा राजारानी पदमार्ग निर्माण वा चाहे वडा नम्बर ७ को गुराँस संरक्षण र पर्यटन प्रवर्धन कार्यक्रम होस् हरेक कार्यक्रममा नगरवासीहरुको स्वतस्फूर्त सहभागिता रहेको थियो । यसरी हेर्दा सुरुवाती १०० दिनमा लेटाङ नगरपालिकाले नगरवासीमा पक्कै पनि आशाको दियो बालेको छ । नगरवासीमा नयाँ नेतृत्वले नगरको मुहाल फेर्नेछ भन्ने विश्वास पलाएको छ । खासगरी सामाजिक सञ्जालहरुमा आउने प्रतिकृयाबाट पनि नगरपालिकाको कामप्रति नगरवासीहरु सकरात्मक देखिएको पाइएको छ । सुरुवाती सय दिनमै सबै नगरवासीको सबै आवश्यकता सम्बोधन नभएपनि नगरपालिकाको नेतृत्वले सहि बाटो समातेको छ भन्ने सन्देश पक्कै पनि पुगेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय