About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २९ भदौ

पाँच दलीय गठबन्धनमा ११० निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति भएको छ । विभिन्न दलबाट सिट बाँडफाँट कार्यदलमा प्रतिनिधित्व गर्ने नेताहरुका अनुसार प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये ११० वटा कुन दलले लिने भन्नेमा सहमति जुटिसकेको छ ।

दलहरुको एउटा मात्र दावी परेको वा छलफलका क्रममा अर्को दल छाड्न तयार भएको क्षेत्र हिसाब गर्दा काँग्रेसको भागमा ६८ क्षेत्र परिसकेको छ । माओवादी केन्द्रको भागमा २६, जसपाको भागमा ९ र एकीकृत समाजवादीको भागमा ७ सिट सुनिश्चित भएको छ । गठबन्धनको पाँचौं दल राष्ट्रिय जनमोर्चाले मागअनुसार प्रतिनिधिसभाको दुई क्षेत्र पाउने पक्का जस्तै भएको छ ।

प्रदेश १ का २८ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा शीर्ष तहमा सहमति भएको स्रोतले जनाएको छ । ७ क्षेत्रमा एकभन्दा बढी दलको दाबी रहेका कारण टुंगो लाग्न सकेको छैन । काँग्रेसले पाँचथर, इलाम क्षेत्र नं. २, संखुवासभा, तेह्रथुम, ओखलढुंगा, उदयपुर १, झापा क्षेत्र नं. १, ३ र ४, मोरङ क्षेत्र नं. १, २, ३ र ६ तथा सुनसरी २, ३ र ४ लिने पक्का भएको छ ।

यस्तै, माओवादी केन्द्रले भोजपुर, उदयपुर क्षेत्र नं. २, झापा क्षेत्र नं. ५, नेकपा एसले इलाम १ लिने पक्का जस्तै भएको छ । सुनसरी १ जसपालाई दिन अरु दल सहमत भएका छन् । कार्यदल र शीर्ष तहमा भएको छलफलअनुसार ताप्लेजुङ कसले लिने भन्ने टुंगिएको छैन । धनकुटामा कांग्रेस र जसपाको दाबी छ । झापा २, सोलुखुम्बु र खोटाङमा कांग्रेस र माओवादी दुबै दलको दाबी छ । मोरङमा माओवादीले ४ र ५ मा दाबी गरेको छ भने जसपाले क्षेत्र नम्बर ५ कुनै हालतमा छाड्न नसकिने अडान लिएको छ । कांग्रेस नेताहरुले पनि मोरङ ४ र ५ मध्ये एउटा आफ्नो दललाई दिनुपर्ने बताएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय