
मोरङ, ५ साउन
केही दिनयता प्रदेश १ मा कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागेको छ । चार दिन यताको संक्रमणको अवस्थालाई नियाल्दा दैनिक सय बढी संक्रमित थपिएका छन् ।
प्रदेश १ मा आज २ हजार ३०२ जनाको पिसिआर परीक्षण गर्दा ६३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, साउन ४ गते ३६६, साउन ३ गते २५२ र साउन २ गते १६१ जनामा संक्रमण पुष्टि भएको थियो । यो तथ्यांक हेर्दा दैनिक संक्रमितको संख्या बढिरहेको छ । प्रदेश सरकारको यो तथ्यांक पिसिआर परीक्षणको मात्र हो । प्रदेशमा भएका एन्टिजेन परीक्षणमा पनि उत्तिकै संख्यामा संक्रमित थपिएका छन् ।
हालसम्म प्रदेश १ मा ७९ हजार १९० जनामा संक्रमण पुष्टि हुँदा ७१ हजार ९ सय ३३ जना निको भएका छन् भने १ हजार ४७९ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९७८ जना रहेका छन् ।