
इटहरी, ४ साउन
इटहरी उपमहानगरपालिकाले दुई वटा क्याम्पस र तीन वटा विद्यालयमा सेनिटरी प्याड डिस्पोजल मेसिन प्रदान गरेको छ । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जनता क्याम्पस इटहरी र राष्ट्रिय जनसहयोग कलेज इटहरीलाई सेनिटरी प्याड डिस्पोजल मेसिन प्रदान गरिन् ।
यसैगरी शारदा मावि खनार, जनता मावि इटहरी र पकली माविमा पनि मेसिन प्रदान गरिएको छ । प्रयोग भइसकेका सेनिटरी प्याड त्यो मेसिनमा हालेपछि मेसिनले जलाएर खरानी वनाउने गर्छ । प्याड जथाभावी फाल्दा फोहोर हुने र शौचालयको प्याननै टालिने समस्या हुने गरेकोमा उपमहानगरपालिकाबाट यो मेसिन सहयोग भएपछि सहज हुने शारदा मावि खनारका प्रधानाध्यापक पिताम्वर सिं राईले बताए ।



