About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, १७ भदौ
स्थानीय तहका जनप्रतिनिधिले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर कार्यभार सम्हालेको १०० दिन पूरा भएको छ । निर्वाचन अघि होस् या पछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह चर्चामा छन् ।
महानगरभित्र नक्सा पास नगरी बनाइएका अवैध संरचना हटाउन उनले थालेको अभियान अहिले अरू सहरहरूमा पनि फैलिएको छ । स्वतन्त्र उम्मेदवारी दिएर राजधानी सहरको मेयर निर्वाचित बालेनले सुरुमा कानुन हातमा लिएको आरोप पनि खेपेका थिए । तर १०० दिन पुग्दा बालेनले आशा जगाउने सुरुवात गरेको देखिन्छ ।
मेयर बालेनले निर्वाचन अभियानको बेला गरेका वाचाअनुसार नीति तथा कार्यक्रम र बजेट ल्याए । उनले आफ्नो घोषणा पत्रमा नेवाः समुदायमा प्रचलित घरेलु मदिरालाई ब्रान्डिङ गर्ने कार्यक्रम बजेटमा समेटे ।
काठमाडौँ महानगरभित्रका बस स्टपमा परम्परागत शैलीको फल्चा निर्माण गर्ने, एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था मिलाउने लगायत कार्यक्रम पनि उनका चुनावी वाचा हुन् । नीति तथा कार्यक्रमभित्र अटाएको ७० वर्ष नाघेका नागरिकहरूको घरैमा स्वास्थ्य परीक्षण गर्ने र नेपाल सरकारले तोकेका औषधिहरू निःशुल्क उपलब्ध गराउने कार्यक्रम पनि बालेनको घोषणापत्रमै थियो । यी सबै कुरा महानगरको बजेटमा समेटिएका छन् ।
मेयर बालेनले महानगरभित्रका बिग्रेका ढल, सडक तत्काल मर्मत सम्भारका लागि पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका थिए, जुन उनले पहिलो कार्यपालिका बैठकबाटै निर्णय गराएर कार्यान्वयनमा ल्याए । बन्द रहेका ब्रुमरहरु पनि यसबिचमा सञ्चालनमा आए भने दमकल पनि थपिएको छ । काठमाडौँमा हुने जात्रा, पर्वहरूलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने बुँदा नीति तथा कार्यक्रममा छ । बजेटमा घोषणा भएअनुसार काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध रहेका विश्वका १८ महानगर र सार्क राष्ट्र राजधानी महानगरका प्रमुखहरूलाई इन्द्रजात्राका अवसरमा २४ भदौमा आमन्त्रण गरिएको छ ।
मेयर बालेनले १०० दिनमा भोगेका सबभन्दा चर्को चुनौती भनेको फोहोर व्यवस्थापन हो । अघिल्ला मेयर विद्यासुन्दर शाक्यले फोहोरको समस्यालाई बेवास्ता गर्दा बालेनले निर्वाचित भएको पहिलो दिनदेखि नै यो चुनौतीको सामना गर्न प¥यो ।
फोहोरको समस्या समाधान नगरी माला, खादा नलगाउने बताएका बालेनले सुरुको करिब दुई महिना मुख्यतः फोहोरकै मुद्दामा अल्झिन प¥यो । उनले सिसडोल र खास गरेर बन्चरेडाँडाबासीसँग गरेका सम्झौता पूरा गर्ने बाचा गरेपछि हाललाई समस्या समाधान भएको छ । फोहोर उठाउन नसक्दा केही समय मेयर साहको आलोचना भएको थियो ।
उनले वैज्ञानिक ढङ्गले फोहोर व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहर छुटाएर कुहुनेबाट मल बनाउने कार्यक्रम बजेटमा ल्याएका थिए ।
१०० दिनको अवधिमा उनको मेयर बालेनको प्रशंसासँगै आलोचना पनि भएको छ । यो अवधिमा महानगरपालिकाले पत्रिकामा सूचना निकालेको भन्दै फुटपाथ व्यापारीदेखि सडकमा मागेर गुजारा गर्नेसम्मलाई रोक लगाएको छ । सडक, गल्ली, पार्क, सवारी बिसौनी, सरकारी कार्यालय, कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न महानगरले रोक लगाएको छ ।
बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र र सीता आचार्य दम्पतीलाई काठमाडौँ नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियोलाई लिएर सामाजिक सञ्जालमा ठूलो बहस भएको थियो । बहसमा महानगरपालिकाको चर्को आलोचना भएको थियो ।
नर्भिक अस्पतालले बनाएको अवैध संरचना भत्काउन सर्वोच्च अदालतको अतिरिम आदेश अवरोध भएपछि सामाजिक सञ्जालमा मेयर बालेनले लेखेको स्ट्याटसले उनलाई मानहानिको मुद्दा लागेको छ । महानगरले डोजर चलाएको अल्फा बिटाका सञ्चालकले पनि कानुनी लडाइँ लड्ने बताएका छन् ।
मेयर बालेनलाई सुरुवाती दिनमा जनप्रतिनिधिहरूसँग समन्वय नगर्दा केही असहज स्थिति पैदा भयो । एउटा कार्यपालिका बैठकमा नगर सभामा प्रस्तुत हुने विषयका बारेमा वडाध्यक्षहरूले प्रश्न गरेपछि विवाद भएको थियो । कार्यपालिका बैठकमा उनले कार्यपालिका सदस्यहरूसँग छलफल नगरी निर्णय गरेको भन्दै आपत्ति प्रकट भएपछि पछिल्लो समय एजेन्डामा छलफल हुन थालेको छ । – प्रशासनबाट

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय