
उर्लाबारी, १६ भदौ
झापाको दमक मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई अधिकतम सुविधा दिने हेतुले कार्य गर्दै आएको जनाएको छ । संस्थाको इकाइगत साधारणसभा अन्तर्गत आज उर्लाबारीमा भएको साधारणसभामा सो जानकारी गराइएको हो ।
उर्लाबारी नगरपालिका वडा नं. ७ की वडाध्यक्ष उर्मिला थापाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाका अध्यक्ष रवि न्यौपानेले आर्थिक वर्ष २०७८।०७९ को प्रतिवेदन प्रस्तुत गरेका थिए । शेयर पुँजी ११ करोड ९४ लाख ८४ हजार २ सय रहेको स्वर्णलक्ष्मी साकोसको गत आर्थिक वर्षमा १६ करोड ८५ लाख ७९ हजार ९०८ रुपैयाँ आम्दानी र १४ करोड १८ लाख १८ हजार ११७ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक शिवप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए । संस्थाले शेयर सदस्यहरुलाई बढीभन्दा बढी फाइदा पुग्ने गरिका विभिन्न योजना अघि सारेको व्यवस्थापक कमलकुमार घिमिरलेले बताए । उनले शेयर सदस्यलाई प्रदान गरिने सुविधाहरुका बारेमा जानकारी गराएका थिए ।
शेयरमा लाभांश, संरक्षित पुँजीकोष ३.५ प्रतिशतसम्म फिर्ता, बचतमा उच्च व्याजदर, छिटो छरितो तथा सर्वसुलभ दरमा ऋण लगानी सेवा, प्राकृतिक प्रकोप राहतकोष मार्फत १० हजार रुपैयाँ सहयोग, सदस्य मृत्यु राहतकोष मार्फत १५ हजार रुपैयाँ सहयोग प्रदान गर्दै आएको उनले बताए । यस्तै, दीर्घरोगहरु क्यान्सर, मुटु, किड्नी राहतकोष मार्फत १० हजार, सदस्य सुत्केरी खर्च ३ हजार, सर्पदंश उपचार खर्च ५ हजार, स्वरोजगार कार्यक्रम मार्फत सदस्यलाई न्युनदरमा लगानी, सदस्य सम्मान तथा पुरस्कार कार्यक्रम सञ्चालन, सन्ध्याकालीन सेवा मुख्य कार्यालयमा बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन भइरहेको व्यवस्थापक घिमिरेले बताए ।
उनका अनुसार सहकारीले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान गर्दै आएको छ । साथै, दीर्घकालीन पेन्सन बचत कार्यक्रम मार्फत मासिक पेन्सन प्राप्त गर्न सकिने, सदस्यको अन्य बैंक वा वित्तीय संस्थाका चेकहरु क्लियरिङ गरी बचत खातामा जम्मा गरिने, मोवाइल बैंकिङ सुविधा, ज्येष्ठ सदस्य तीर्थाटन कार्यक्रमलगायत सुविधा प्रदान गर्दै आएको संस्थाले जनाएको छ । साधारणसभामा प्रमुख अतिथि थापा र उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।