
दमक, १३ भदौ
स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था दमकले १३ औं साधारणसभा इकाईगत रुपमा सुरु गरेको छ । सोमबार मुख्य कार्यालयमा दमक वडा नं. १ देखि ६ का शेयर सदस्यका लागि साधारणसभा गरेको हो ।
संस्थाका संस्थापक अध्यक्ष बासुदेव काफ्लेको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा अध्यक्ष रवि न्यौपानेले आर्थिक वर्ष २०७८।०७९ को प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले गत आर्थिक वर्षमा भए गरेका प्रगति र आर्थिक विवरणबारे जानकारी गराएका थिए । शेयर पुँजी ११ करोड ९४ लाख ८४ हजार २ सय रहेको स्वर्णलक्ष्मी साकोसको गत आर्थिक वर्षमा १६ करोड ८५ लाख ७९ हजार ९०८ रुपैयाँ आम्दानी र १४ करोड १८ लाख १८ हजार ११७ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक शिवप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए । संस्थाले शेयर सदस्यहरुलाई बढीभन्दा बढी फाइदा पुग्ने गरिका विभिन्न योजना अघि सारेको व्यवस्थापक कमलकुमार घिमिरलेले बताए । संस्थाले भदौ १६ गतेसम्म इकाइगत साधारणसभा गर्ने जनाएको छ । जसअनुसार भदौ १४ गते दमक ७ देखि १० नं. वडा र कमल गाउँपालिका क्षेत्रको संस्थाको मुख्य भवनमा, भदौ १५ गते झिलझिले सेवा केन्द्र र सुरुङ्गा सेवा केन्द्र तथा भदौ १६ गते गौरादह सेवा केन्द्र र उर्लाबारी सेवा केन्द्रमा साधारणसभा गरिने व्यवस्थापक घिमिरेले बताए ।
उनका अनुसार इकाइगत रुपमा आएका सुझावलाई संकलन गरी भदौ १८ गते हुने पूर्ण साधारणसभामा छलफल गरी पारित गरिने छ । साथै सोही दिन संस्थाको नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम रहेको छ ।