
उर्लाबारी, १२ भदौ
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।
नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका केही ठाउँमा पनि मनाइन्छ । भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत लिएकी थिइन् त्यो दिन यहि हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् । यो चाडमा माइतीले (बाबु आमा, दाजुभाइ) छोरी÷चेलीलाई घरमा बोलाएर मीठा–मीठा परिकार ख्वाउँने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बसिन् ।
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमान्को साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । पहिलो दिन विशेष महत्वका साथ दर खाने गरिन्छ ।



