
उर्लाबारी, ९ भदौ
उर्लाबारीका एक सैलुन व्यवसायीमाथि कुटपिट भएको छ । उर्लाबारी–५ स्थित शंकर सैलुनका सञ्चालक अनिलकुमार ठाकुरका भाइ सोही सैलुनमा काम गर्ने प्रकाश ठाकुरलाई उर्लाबारी–७ का दिनेश श्रेष्ठले कुटपिट गरी घाइते बनाएका हुन् ।
बुधबार राति ९ः३० बजे ब्रिटिश गोरखा डिपार्टमेन्ट अगाडि सामान्य विवादमा श्रेष्ठले ठाकुरलाई अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै उर्लाबारी उद्योग वाणिज्य संघले पीडकलाई कारबाहीको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको केही घण्टामै वाणिज्य संघका पदाधिकारीको रोहबरमै घटना मिलापत्र गरिएको छ ।
विहीबार दिउँसो वाणिज्य संघका कार्यवाहक अध्यक्ष यमलाल रसाइलीले जारी गरेको प्रेस विज्ञप्तिमा कुटपिटको घटनाको निन्दा गर्दै पीडकलाई कानुन बमोजिम कारबाहीको माग गरेका थिए । त्यसको केही समयपछि इलाका प्रहरी कार्यालयमा भएको छलफलमा पीडितको उपचार गरी क्षतिपूर्ति दिने सहमति गरी घटना मिलाइएको छ ।
कुटपिटबाट घाइते ठाकुरको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ । उनको टाउको र आँखामा चोट लागेको घाइतेका दाजु अनिल ठाकुरले बताए ।