About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

वीरगञ्ज, ४ साउन
पर्साको पकाहामैनपुर गाउँपालिकाका–१ का वडाध्यक्ष खैरो हेरोइनसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाबाट सादा पोसाकमा खटिएको प्रहरीले आइतबार राति साढे १० बजे वीरगञ्ज महानगरपालिका–१९ बर्वास्थित सडक खण्डमा ना १ ब ३५९५ नम्बरको मोटरसाइकल जाँच गर्दा ७९ ग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पकाहामैनपुर गाउँपालिका–१ धोरे निवासी ५५ वर्षीय अमेरिका सहनीले चलाएको मोटरसाइकलको फिल्टर बक्सबाट खैरो हिरोइन बरामद भएको हो । ‘वडाध्यक्षले चलाइरहेको मोटरसाइकलबाट ७९ ग्राम खैरो हेरोइन बरामद भएको छ,’ डीएसपी खनालले भने, ‘थप परीक्षणका लागि नमुना प्रयोगशालामा पठाउँछौं, अनुसन्धान जारी छ ।’
गाउँपालिकाको सरकारी नम्बर प्लेटको मोटरसाइकलमा हेरोइन ओसारेका सहनी उक्त गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष हुन् । मोटरसाइकलमा पछाडि बसेका सोही वडाका ५२ वर्षीय रामआदेश सहनीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । वडाध्यक्षकै पछाडि आइरहेको ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही वडाका ४० वर्षीय बलिस्टर सहनीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जनाए । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय