
उर्लाबारी, ७ भदौ
उर्लाबारी नगरपालिकाले स्थानीय किसानका समस्याका बारेमा मंगलबार संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उपस्थित किसानहरुले स्थानीय सरकारसँग गुनासै गुनासा व्यक्त गरेका छन् । किसानका समस्या उजागर गर्ने हेतुले आयोजित अन्तरक्रियामा किसानलाई पेन्सनको व्यवस्था, अन्नदातालाई सम्मान, कृषि ऋण सहज ढंगले उपलब्ध, पर्याप्त मलखाद बीउ बीजनको तुरुन्त व्यवस्था र किसानहरूलाई आधुनिक कृषि औजारको व्यवस्था गर्नुपर्ने लगायत माग राखिएको थियो ।
समयमा पानी नपर्ने, बाली लगाएपछि बाढी आउने, बाली हुर्कने बेला मलखाद नपाउने, बैंकले किसानलाई ऋणमा झन्झट गर्ने तथा कृषियन्त्रहरू समेत महंगोमा खरिद गर्नु पर्ने अवस्थाका कारण कयौं किसानहरूले विस्तारै पेशा परिवर्तन गर्न थालेको किसानहरुका गुनासो रहेका छन् ।
कार्यक्रममा भेला भएका किसानहरुको एउटै गुनासो थियो ‘स्थानीय सरकारले हाम्रो उत्पादनलाई भण्डारण र बजारीकरणमा सहयोग गर्नुप¥यो ।’ नगरपालिकाको कृषि शाखाले पशुपालन, मौरी पालन, तरकारी र खाद्य बालीका स्थानीय अगुवा किसानलाई एकै थलोमा जुटाएर मेयर–उपमेयरसँग अन्तरक्रिया गराएको हो ।
कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले विषयविज्ञसहितको गुरुयोजना तयार गरी कृषिलाई उत्पादनमुखी, व्यवसायिक र आत्मनिर्भर बनाउने नगरपालिकाको अबको योजना रहेको बताए । ‘किसान हाम्रा जनता हुन्, जनताका गुनासा सुन्नु र सम्बोधन गर्नु हामी जनप्रतिनिधिको दायित्व हो’ मेयर खरेलले भने । उनले किसानहरूलाई सेवा लिन निरन्तर सम्पर्कमा आइरहन अनुरोध गर्दै समस्याहरू समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले पनि किसानहरुका जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रममा उपमेयर मीना खतिवडा पौडेलको पनि उपस्थिति रहेको थियो । संवाद कार्यक्रमको सहजीकरण कृषि शाखा प्रमुख अम्बिका लुइटेलले गरेका थिए ।