About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ५ भदौ
उर्लाबारीमा आयोजित अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको उपाधि उर्लाबारी लिटिल एन्जेल बोर्डिङ र सनसाइन बोर्डिङ स्कुलले जितेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिको आयोजनामा प्याव्सनमा आवद्ध विद्यालयबीच भएको प्रतियोगितामा आधारभुत तहतर्फ उर्लाबारी–५ को उर्लाबारी लिटिल एन्जेल र माध्यमिक तहतर्फ उर्लाबारी–३ को सनसाइन बोर्डिङ प्रथम भएका हुन् । लिटिल एन्जेलका विद्यार्थीले राउटे नृत्य र सनसाइनका विद्यार्थीले झाँक्री नृत्य गरेका थिए ।


उर्लाबारी पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा आधारभुत तहतर्फ भृकुटी मोडल एकाडेमी दोस्रो र पशुपति आमावि तेस्रो स्थान हात पारे । माध्यमिक तहतर्फ सप्तकोशी बोर्डिङ दोस्रो र पशुपति आमावि तेस्रो भए । विजेता, उपविजेतालाई प्याव्सनका केन्द्रीय सदस्य केदार खनाल, प्रदेश सदस्य भुवन श्रेष्ठ, जिल्ला उपाध्यक्ष सुरेन्द्र सुवेदी, प्याव्सन पथरी शनिश्चरे नगर अध्यक्ष सुरेन्द्र लिम्बू, उर्लाबारी अध्यक्ष दिनेश पोख्रेललगायतले ट्रफी, मेडल र पुरस्कार प्रदान गरे ।


प्याव्सन प्रदेश १ का अध्यक्ष टिकाराम ढकालको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा प्रमुख अतिथि ढकालसहित केन्द्रीय सदस्य केदार खनाल, प्याव्सन जिल्ला अध्यक्ष शितला सुब्बाले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगितामा आधारभुततर्फ १३ र माध्यमिकतर्फ ९ विद्यालयले सहभागिता जनाएका थिए । आधारभुत तहतर्फ प्रथम, दोस्रो र तेस्रोसहित सप्तकोशी बोर्डिङ र हिमालय बालसंसार तथा माध्यमिक तहतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा भाग लिन पाउने प्याव्सन नगर अध्यक्ष दिनेश पोख्रेलले बताए ।
प्रतियोगितामा सुनुवार, माझी, मारुनी, थारु, मयुर, झ्याउरे, राउटे, साकेला, सन्थाल, तामाङ सेलोलगायतका नृत्य प्रस्तुत भएका थिए । अध्यक्ष पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा सदस्य सूर्य पौडेलले स्वागत मन्तव्य राखेका थिए भने सचिव कुवेर न्यौपानले सञ्चालन गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय