About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ भदौ
मोरङको उर्लाबारीमा यस वर्ष श्रीकृष्ण रथयात्रा भव्य निकालिने भएको छ । कोरोना महामारीका कारण दुई वर्षसम्म हुन नसकेको रथयात्रा यस वर्ष भदौ ४ गते भव्य बनाइने भएको हो ।
श्रीकृष्ण रथयात्रा व्यवस्थापन नगर समिति उर्लाबारीको आयोजनामा उर्लाबारी र आसपास क्षेत्रका धर्मानुरागी महानुभावहरुको उपस्थितिमा रथयात्रा निकालिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । रथयात्रा व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुशीला गौतमले रथयात्रामा सहभागी हुन धर्मानुरागी महानुभावहरुलाई आह्वान गरिन् । रथयात्रामा २५ हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको उनले बताइन् ।
आयोजक समितिका अनुसार श्रीकृष्ण जन्माष्टमीका दिन बिहान पूजा आराधना, दिउँसो श्रीकृष्णको महिमा चरित्रको प्रवचन, साँझ भजन किर्तन प्रतियोगिता आयोजना गरिएको छ । भजन किर्तन प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद ४ हजार, ३ हजार, २ हजार र १ हजारसहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गौतमले बताइन् ।
साथै, रथयात्राको दिन विभिन्न समूहबाट सहभागिताको आधारमा पुरस्कृत गरिने आयोजक समितिका सचिव गजेन्द्र दंगालले बताए । सहभागिताका आधारमा प्रथमलाई ४ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार र सान्त्वनालाई १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । भदौ ४ गते दिउँसो उर्लाबारी–७ स्थित राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा, स्कुलडाँडा, फागो टोल, हाटखोला, उर्लाबारी चौक, बरगाछी हुँदै पुनः राधाकृष्ण मन्दिरमा पुगेर समापन हुने सचिव दंगालले बताए ।
रथयात्रा सम्पन्न गर्न करिब ३ लाख रुपैयाँ लाग्ने आयोजकले अनुमान गरेको छ । जसमा उर्लाबारी नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ दिने र अन्य रकम धर्मप्रेमी महानुभावबाट संकलन गरिने समितिले जनाएको छ । श्रीकृष्ण रथयात्रालाई यस पटक भव्य बनाउन सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको आयोजक समितिका उपाध्यक्ष अनन्तराम खतिवडाले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय