About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २९ साउन
पूर्वपश्चिम राजमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही सडक (१२० किलोमिटर) स्तरोन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सम्बन्धमा आज उर्लाबारीमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
उर्लाबारी नगरपालिकाको सभाहलमा भएको सार्वजनिक सुनुवाईमा आयोजनाका टोली प्रमुख राजन श्रेष्ठले काँकरभिट्टादेखि लौकही सडक १२० किलोमिटर लम्बाई स्तरोन्नतिको विषयमा जानकारी गराएका थिए । अब बन्ने चार लेनको सडक अन्तर्गत उर्लाबारीमा पर्ने मावा, मावा शाखा, बक्राहा, सोल्टी र सुनझोडामा पुल बन्ने छन् । बक्राहा खोलामा बन्ने पुल आकर्षक ढंगको (सिग्नेचर ब्रिज) हुने श्रेष्ठले जानकारी दिए ।
यस्तै, उर्लाबारी चौकको पूर्व र पश्चिम एक÷एक ओटा आकासे पुल बन्ने छन् । चार लेन सडकको मावा पुलदेखि आइतबारे रेडक्रस छेउसम्म ५० मिटर, त्यसपछि बक्राहा खोलासम्म ३३ मिटर, बक्राहादेखि सोल्टी खोलासम्म २४ मिटर, सोल्टीदेखि पश्चिम ३३ मिटर चौडाइको सडक निर्माण हुने श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरुले सडक निर्माणसँगै ढल निकासलाई पनि समेटिनु पर्ने बताएका थिए । उनीहरुले सडक स्तरोन्नति गर्दा देखिने समस्या र समाधानका विषयमा जिज्ञासा राखेका थिए । नगर प्रमुख गंगाप्रसाद खरेलको सभापतित्व रहेको कार्यक्रममा उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्षहरु कल्याण राई, उर्मिला थापा, रविन लामा, चिन्तामणि पौडेल, वडा सदस्यहरु, एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोला, कांग्रेस उर्लाबारीका सचिव राजन रायमाझी, जसपा उर्लाबारीका अध्यक्ष मात्रिका धिमाल, राप्रपा उर्लाबारीका अध्यक्ष देवी दाहाल, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, महासचिव हेमराज गुरुङलगायतको सहभागीता रहेको थियो । सो अवसरमा व्यवसायीहरु विनोद न्यौपाने, यामलाल रसाइली, इन्द्रबहादुर भट्टराई, चन्द्रबहादुर भट्टराई ‘भरत’ लगायतले पनि जिज्ञासा राखेका थिए । सरोकारवाला र जनप्रतिनिधिहरुको जिज्ञासालाई टोली प्रमुख श्रेष्ठ, सामाजिक विज्ञ रविन ढकाल, ईन्जिनियर सौरभ ढुंगाना लगायतले सहजीकरण गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय