
उर्लाबारी, २९ साउन
आइतबार उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको कार्यक्रममा आएका प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवलाई स्थानीय केही व्यक्तिले कालो झण्डा देखाए । कालो झण्डा देखाउने मंगलबारे युवा क्लबका अध्यक्ष पिपलराज गिरीसहित क्लबका महासचिव रेशु कटुवाल, सदस्यहरू शेखर खड्का, प्रदिप दाहाल र प्रतिक पाण्डेलाई प्रहरीले नियन्त्रणमा लियो ।
मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपिडी भवन, पाइपलाइनसहितको अक्सिजन प्लान्ट र क्रिटिकल केयर युनिट उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका स्वास्थ्यमन्त्री यादवलाई कालो झण्डा देखाउनेहरु केही घण्टापछि छुटेका छन् ।
मंगलबारे युवा क्लबका अध्यक्ष गिरीले केही समय अघिदेखि नै नयाँ ओपिडी भवन निर्माणमा अनियमितता भएको भन्दै निर्माणको आम्दानी खर्च सार्वजनिक गर्न माग राख्दै आएका थिए । केही दिनअघि क्लबले भवनको खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग राख्दै अस्पताल प्रशासनलाई ज्ञापन पत्र समेत बुझाएको थियो । तर, आफूहरुको मागको कुनै सुनुवाई नभई भवन उद्घाटन गर्न लागेका कारण आफूहरुले कालो झण्डा देखाउनु परेको अध्यक्ष गिरीले बताए ।
हिजो मात्र उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल र क्लबका अध्यक्ष गिरीसहित भवनका विषयमा छलफल भएको थियो । सो अवसरमा नगर प्रमुख खरेलले भवन निर्माणका प्रक्रिया, सबै बिल भरपाई हेरी अनियमिता भए नभएको विषयमा खोजी गर्न सहयोग गर्ने आस्वासन समेत दिएका थिए । प्रक्रियाबाट जाने बाटो खुला हुँदा हुँदै मन्त्रीलाई कालो झण्डा देखाउनु उपयुक्त नभएको आजको उद्घाटन कार्यक्रमका बक्ताहरुले बताएका थिए ।