About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २६ साउन
मोरङ मोडल स्कूल उर्लाबारीको कक्षा ६ मा अध्ययनरत मनिष पौद्दारले सोधे ‘हजुर र पहिलेका मेयरबीच के भिन्नता छ ?’ नगर प्रमुख गंगाप्रसाद खरेल एकछिन अलमलमा परे र, भने ‘सबैका आ–आफ्ना लक्ष्य, उद्देश्य र गन्तव्य हुन्छन् । कति पुरा हुन्छन्, कति हुँदैनन् । म चाहिँ समाजसेवाको हुटहुटीले यहाँसम्म तानिएर आएको छु । अरुसँग म आफैँले तुलना गर्नु उचित हुँदैन । जनस्तरबाटै को कस्ता हो भन्ने मुल्याङ्कन भइसकेको अवस्था छ ।’
कक्षा ६ मै अध्ययनरत सिमन धिमालले सोधिन् ‘शैक्षिक सुधारमा तपाईहरु के गर्दै हुनुहुन्छ ?’ फेरि नगर प्रमुखले भने ‘हाम्रो जिम्मेवारी धेरै छ । माध्यमिक तहसम्मको जिम्मा हामीलाई छ । स्थानीय पाठ्यक्रम समेत बनाउन पाउछौँ ।’ खरेलले थपे ‘हाम्रो तह भित्रका सबै विद्यार्थीलाई स्तरीय शिक्षा प्रदान गर्ने वातावरण बनिरहेको छ । शैक्षिक अबस्था सुधारका लागि हामी लागिपरेका छौ ।’
विद्यार्थीहरु रोकिएनन् । सबैले एकपछि अर्को गरी सवालहरु गरिरहे । कसैले नितान्त व्यक्तिगत प्रश्नहरु गरे भने धेरैले सुशासन, विधिको शासन, भ्रष्टाचार, लागुपदार्थ, जनजीविकाका सवाल, लैंगिक विभेद, विपत् व्यवस्थापन, शिक्षाको पहुँचमा नभएका बालबालिकालाई कसरी विद्यालयसम्म ल्याउने लगायत आगामी रणनीतिका बारेमा समेत सोधेका थिए । स्थानीय सरकारका गतिविधि, जनप्रतिनिधिका काम कर्तव्य र अधिकारका बारेमा जानकारी दिलाउने हेतुले विद्यार्थीलाई मेयरसँग साक्षात्कार गराइएको उर्लाबारी–६ स्थित मोरङ मोडल बोर्डिङ स्कुल सामाजिक विषय शिक्षक वीपी भट्टराईले जानकारी दिए । मोरङ मोडलका २१ जना विद्यार्थीले उर्लाबारी नगरपालिकाका नगर प्रमुख खरेलसँग एक घण्टा बढी सवाल–जवाफ गरेका हुन् ।
विद्यार्थीका प्रश्न ध्यानपूर्वक सुनेका नगर प्रमुख खरेलले पालैपालो उत्तर दिए । उनले जिज्ञासा लिएर नगरपालिकासम्म आउने विद्यार्थीलाई धन्यवाद दिँदै शिक्षा सुधारमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । विद्यार्थीलाई विषय छनोटमा ख्याल गर्न सुझाव दिँदै अनुशासित र मर्यादित तवरले अध्ययन गरी व्यवहारिक बन्नपनि मेयर खरेलले आग्रह गरे । अन्तरक्रियामा सामेल २१ जना विद्यार्थीलाई मेयर खरेल र उपमेयर मीना खतिवडा पौडेलले कापी कलमलगायत स्टेशनरी सामग्री र चकलेट प्रदान गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय