
नवराज भट्टराई, उर्लाबारी
सरकारले मंसिर ४ गते प्रदेश र संघीय निर्वाचन गर्ने निर्णय गरेसँगै चुनावीको चर्चा परिचर्चा सुरु भइसकेको छ । प्रत्येक संघीय र प्रदेश निर्वाचन क्षेत्रका बारेमा चुनावी जोडघटाउ सुरु भएको छ ।
मोरङ क्षेत्र नं. १ (१) मा गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई हेर्दा नेकपा एमाले बलियो देखिएको छ । यो प्रदेश निर्वाचन क्षेत्रमा उर्लाबारी नगरपालिका र मिक्लाजुङका वडा नं. २, ३, ५, ६, ७, ८ र ९ गरी १५ वडा रहेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमाले र नेपाली काँग्रेसले ७÷७ र नेकपा माओवादी केन्द्रले १ वडाध्यक्ष जितेको छ । वडाध्यक्षले पाएको मतका आधारमा पहिलो एमाले १४ हजार ४०६, दोस्रो नेपाली काँग्रेस १३ हजार ९७३, तेस्रो नेकपा माओवादी केन्द्र ३ हजार ९३, चौंथो राप्रपा २ हजार २८७ छन् । यस्तै, नेकपा एसले १ हजार ७५, मंगोल नेशनल अर्गनाइजेशनले ९११, जसपा नेपालले ७७० र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १८९ मत पाएका छन् । स्थानीय तह निर्वाचनमा काँग्रेस र माओवादीबीच वडामा मिक्लाजुङ ३ र ८ मा मात्र गठबन्धन भएको थियो । काँग्रेसकै आडमा मिक्लाजुङ ८ मा माओवादीले वडाध्यक्ष जितेको छ ।
गठबन्धन बलियो तर इमान्दारिता कति ?
यो निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धन बलियो देखिएको छ । पाँच दलमध्ये राष्ट्रिय जनमोर्चाको यहाँ अस्तित्व छैन । स्थानीय निर्वाचनमा चार दलले प्राप्त गरेको मत १८ हजार ९११ छ । तर, चारै पार्टीमा वडाध्यक्षले पाएको सबै मत गठबन्धनकै उम्मेद्वारलाई प्राप्त हुन्छ भन्न सकिने अवस्था छैन । यसको उदाहरण गत स्थानीय तह निर्वाचनमा मिक्लाजुङ गाउँपालिका अध्यक्ष, उपाध्यक्षले पाएको मतलाई लिन सकिन्छ । मिक्लाजुङमा नेपाली काँग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष लिएर गठबन्धन गरेका थिए । अध्यक्षमा बबिकुमार राईले ८२५३ मत प्राप्त गर्दा उपाध्यक्ष दिनेश पौडेलले ५६२६ मत पाए । दुवै विजयी भएपनि गठबन्धन गरेर चुनावमा होमिँदा अध्यक्ष उपाध्यक्षबीच २६२७ मतको अन्तर देखियो ।
गठबन्धनबाट उम्मेद्वार कुन पार्टीको ?
मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन गरेर जाने सत्ता साझेदार पाँच दलबीच सहमति भएको छ । पार्टीको जनमत कमजोर भएपनि यो क्षेत्र माओवादीले दाबी गर्नु स्वभाविक देखिन्छ । २०७४ मा जितेको क्षेत्रमा आफैंले पाउनु पर्ने माओवादीले केन्द्रदेखि नै लविङ गरिरहेका कारण यस क्षेत्रमा माओवादीले टिकट पाउने देखिन्छ । २०७४ को निर्वाचनमा मोरङ १ (१) मा माओवादीका कुशल लिम्बू निर्वाचित भएका थिए ।
तर, नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार बनाएर भागबन्डा गर्नुपर्ने बताइरहँदा यदी सोही अनुसार हुने हो भने यहाँ काँग्रेसको पनि उत्तिकै दाबेदारी देखिन्छ । १३ हजार मत भएको काँग्रेसले ३ हजार मत भएको माओवादीमा कुन पार्टीले टिकट पाउने हो गठबन्धनले नै निर्णय गर्ला ।
भाग्यमानी माओवादी !
यो क्षेत्रमा गठबन्धनबाट माओवादीले टिकट पाएमा अनौठो नमान्दा हुन्छ । किनभने २०७४ सालमा एमालेसँग गठबन्धन गर्दा पनि माओवादीले नै टिकट पायो । जबकी, त्यो बेला यस क्षेत्रका १५ वडामा माओवादीले वडाध्यक्ष त के एउटा वडा सदस्य पनि जितेको थिएन । एमालेकै बलमा माओवादीका उम्मेद्वार कुशल लिम्बू काँग्रेसका ललित अधिकारीलाई ४२९१ मतान्तरले हराउँदै विजयी भएका थिए ।