
नवराज भट्टराई
उर्लाबारी, ३ साउन
उर्लाबारी गत स्थानीय तह निर्वाचनका बेला वडाध्यक्षको उम्मेद्वार रहेका उर्लाबारी–२ का राजन कँडेलका विषयमा धेरैले कुरा काट्न भ्याए ‘अपाङ्गता भएकाले वडाध्यक्षको टिकट पायो । जित्दैन । जितेपनि केही गर्न सक्ने होइन ।’ अपाङ्गता भएका कँडेल यस्ता भनाईले कतिपनि हरेश खाएनन्, बरू ‘इख बिनाको मान्छे र बिष विनाको सर्प काम दिँदैन’ भने झै उनी जसरी पनि वडाध्यक्षमा जित्ने र उदाहरणीय वडाध्यक्ष बनेर देखाउने अठोट लिएर निर्वाचनमा होमिए । लक्ष्य बमोजिम उनी वडाध्यक्ष विजयी भए त्यो पनि उल्लेख्य मतान्तरका साथ । कँडेलले वडाध्यक्षका प्रत्यासी हेमचन्द्र थापाभन्दा ३ सय ४६ मत बढी ल्याएर वडाको वागडोर सम्हाल्ने अवसर पाए । ११ सय ९८ मत प्राप्त गरेर निर्वाचित भएदेखि नै कँडेलले उक्त अवसरलाई भरपुर सदुपयोग गर्दै आएका छन् ।
कँडेल पृथक यो मानेमा छन् कि शारीरिक अशक्तता हुँदा पनि उनी अन्य वडाध्यक्षभन्दा कमजोर आफूलाई ठान्दैनन् । उनी भन्छन्, ‘दौडबाहेक सबै कार्यमा अन्य वडाध्यक्षभन्दा कम छुइँन ।’
११ वर्षअघि सवारी दुर्घटनामा परेर दायाँ खुट्टा गुमाएका वडाध्यक्ष कँडेल वैशाखीको सहारामा हिँड्छन् । खुट्टा गुमाएपनि काममा सहयोग गर्ने सयौं काँध र खुट्टाहरू उनले कमाएका छन् । वडावासीको सुख, दुःखमा रातदिन नभनी खटेका छन् । हरेक जनप्रतिनिधिको काम जनताको सेवा गर्नु नै हो, जनताको काम मै खटिनु हो । तर, कँडेल पृथक यो मानेमा छन् कि शारीरिक अशक्तता हुँदा पनि उनी अन्य वडाध्यक्षभन्दा कमजोर आफूलाई ठान्दैनन् । उनी भन्छन्, ‘दौडबाहेक सबै कार्यमा अन्य वडाध्यक्षभन्दा कम छुइँन ।’
चुनावताका अशक्तताको विषय उठाएर कुरा काट्नेहरू अहिले वडाध्यक्ष कँडेलको प्रशंसा गर्न थालेका छन् । उनको लोकप्रियताको तारिफ गर्छन् । राज्य पुनर्संरचनासँगै तत्कालीन उर्लाबारी गाविसका वडा नं. ७, ८ र ९ वडा समेटेर बनेको उर्लाबारी वडा नं २ भौगोलिक हिसाबले निकै ठूलो वडा हो । उर्लाबारीलाई सिमसारको सहर भनिन्छ तर, उर्लाबारीमा भएका सबै सिमसार यसै वडामा छन् । बेतिनी, लामपाते, बुढा ठाकुर, भुसीझोडा, बाँसे चौरी सिमसार तथा पर्यटकीय क्षेत्र यही वडामा छन् । यो वडामा ६ वटा सामुदायिक वन छन् । पर्यटन, कृषि, स्वास्थ्य, शिक्षालगायतको विकासमा वडाध्यक्ष कँडेलको सक्रियता अतुलनीय रहेको वडावासी राजु थापा बताउँछन् । उनी भन्छन्, ‘शारीरिक अशक्तता भएर के भयो र ? हामीले अहोरात्र खट्ने वडाध्यक्ष पाएका छौं, यसैमा खुसी छौं ।’ वडाध्यक्ष कँडेलकै पहलमा उर्लाबारीमै पहिलो पटक वडा कार्यालय निर्माण भइरहेको छ । साथै, शहरी स्वास्थ्य केन्द्रको भवन पनि बन्दै छ । प्राकृतिक रुपमा सुन्दर तर विकासमा पछि परेको सो वडाको विकासका लागि धेरै योजना अघि सारेको वडाध्यक्ष कँडेल बताउँछन् । आफ्नो कार्यकालमा पछिसम्मका लागि सम्झनायोग्य कार्य गर्ने उनले बताए ।
कँडेलको दैनिकी बिहान साढे ४ बजेदेखि सुरु हुन्छ । बिहान उठ्ने बित्तिकै योगा गर्ने उनी चिया खाएर गाउँ निस्कन्छन् । बिहान बेलुका बैशाखीकै सहारामा हिँडेरै वा स्कुटरमा तथा कार्यालय समयमा सहयोगी लिएर जनताका काममा हिँड्ने गरेको उनले बताए । समयमै कार्यालय पुग्ने, वडावासीको समस्या, गुनासा सुन्ने र समाधानको पहल गर्ने, कार्यालय समयपछि पनि जनताकै काममा खटेर बेलुका अबेर मात्र घर पुग्ने गरेका छन् । ‘अपाङ्गता भएका मानिसले पनि अरुभन्दा राम्रो काम गर्न सक्छन् भन्ने उदाहरण दिन चाहेको छु’ उनले भने, ‘दृढ इच्छाशक्ति भए सामाजिक काममा अपाङ्गताले रोक्दैन ।’ जनताको काममा अहोरात्र खटेपनि कतिपयको खुट्टा तान्ने प्रवृत्ति यथावत् रहेको उनको अनुभव छ । उनले भने, ‘मैले कसैको अहित चिताउने काम गरेको छैन, यदि त्यस्तो गरेको भए कारबाही भोग्न तयार छु ।’ नेपाली काँग्रेसबाट निर्वाचित ४० वर्षीय वडाध्यक्ष कँडेल अपाङ्गता भएका व्यक्तिले त राम्रो काम गर्छ भने सपाङ्गता भएकाले अझ राम्रो काम गर्नुपर्ने बताउँछन् । ‘निर्वाचनका बेला काँग्रेसको उम्मेद्वार भएर चुनाव जितेपनि सबै वडावासीको मनमा बस्ने प्रयत्न गर्नुभएको छ’ उर्लाबारी–२ का सन्तोष पौडेल भन्छन्, ‘उहाँ विकासप्रेमी वडाध्यक्ष हुनुहुन्छ, कसैलाई काखा र कसैलाई पाखा गर्नुहुन्न ।’