About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १६ साउन
उर्लाबारी नगरपालिका वडा नं. १ को नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गरिएको छ । नगरप्रमुख गंगाप्रसाद खरेलले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरे ।
उर्लाबारी–१ झारसाँदीमा बनेको दुई तले पक्की भवनमा आठ कोठा रहेका छन् । ९७ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको वडा अध्यक्ष तिलक पाण्डेले जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउँदै नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गरे ।
‘उर्लाबारीका जनप्रतिनिधि जनता केन्द्रित भई काम गर्दै आइरहेका छन्’ उनले भने ‘जनताको आवश्यकतामा साथ दिन जनप्रतिनिधि हरदम तयार छन् ।’ आफूहरुको मुख्य उद्धेश्य आर्थिक पारदर्शिता, स्थानीय जनताको अपनत्व र बलियो निर्माणका लागि भएको बताउँदै प्रमुख खरेलले उर्लाबारीबासी जनताको एकता र मेहनतले मात्र सुन्दर उर्लाबारीको परिचय स्थापित हुने उल्लेख गरे । वडा नम्बर १ का अध्यक्ष तिलक पाण्डेले वडा समिति, वडाबासीको सहयोग र समन्वयका कारण समयमै कार्यालय भवन निर्माण सम्पन्न भएको बताए ।


कार्यक्रममा वडा कार्यालय भवनका लागि जग्गा दान दिनु हुने समाजसेवी नरबहादुर चौहान र इन्द्रबहादुर चौहानसहित उनीहरुको परिवार, वडाका निवर्तमान जनप्रतिनिधि मोहनकर्ण श्रेष्ठ र गम्भीरमान प्रधानलाई सम्मान गरिएको थियो । वडा कार्यालय भवन निर्माणका लागि नरबहादुर चौहान परिवारले १ कट्ठा ४ धुर र इन्द्रबहादुर चौहान परिवारले १ कट्ठा ६ धुर जग्गा दान गरेको वडा सदस्य गौरीशंकर दाहालले बताए । उद्घाटन कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेल, पूर्व उपप्रमुख लक्ष्मीदेवी भण्डारी, समाजसेवी मानबहादुर श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय