
काठमाडौं, १५ साउन
अछामको एक गाउँपालिका अध्यक्षले आफ्नै श्रीमतीलाई गाउँपालिकाको कर्मचारी नियुक्त गरेका छन् । जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले श्रीमती जयसरा साउदलाई भान्सेमा नियुक्त गरेका हुन् ।
कार्यालय सहायक सरहको तलब–सुविधा पाउने गरी श्रीमतीलाई उनले भान्से बनाएका हुन् । नियुक्तिपत्रमा गाउँपालिकाका प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको हस्ताक्षर छ । जेठ १५ गतेदेखि लागु हुने गरी ६ महिनाको करार सम्झौता गरिएको नियुक्तिपत्रमा उल्लेख छ । करार सम्झौताअनुसार भान्सेका रूपमा गाउँपालिका अध्यक्षकी श्रीमतीले मासिक २१ हजार ३ सय पारिश्रमिक, वार्षिक १० हजार पोसाक भत्ता र चाड पर्वमा वर्षमा एक पटक एक महिनाको पारिश्रमिक प्राप्त गर्नेछिन् ।
प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने ‘विश्वासिलो व्यक्ति भान्से राख्न पाउनु हुन्छ भनेका थियौँ, उहाँले आफ्नै श्रीमतीको नाम दिनु भयो । उहाँकै सिफारिसका आधारमा भान्से नियुक्त गरिएको हो ।’