
उर्लाबारी, १५ साउन
आज साउन १५ अर्थात् खिर खाने दिन । नेपाली समाजमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाइ नै छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खिर खाने परम्परा रहँदै आएको मानिन्छ ।
खिर दुधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो । यसको नेपाली समाजमा विशेष महत्व छ । हिन्दु धर्मावलम्बीहरु मध्ये धेरैले साउनमा माछा–मासु नखाने भएकाले साउन महिनाभरि खिर खाने गरे पनि साउन १५ लाई विशेष खिर खाने दिन भनेर मनाउने गरिन्छ ।
साउन महिना झरी पर्ने महिना भएकाले विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको खिर खाने गरिन्छ । रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खिर खानु स्वास्थ्यकर छ । झरीको समयमा विभिन्न संक्रामक रोग लाग्ने गर्छ । दुध र चामल मिश्रित खिरलाई मात्रा अनुसार मिसाइने चिनी, ध्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ ।
गाईको दुधबाट बनाएको खिरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं । खिर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ । खिरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ । खिर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खिर बिरामीलाई खुवाउन सकिन्छ । बिरामीले खिर नरम हुने भएकाले सजिलै पचाउन सक्छन् । खिर बच्चा, वृद्ध सबैलाई उपयुक्त खानेकुरा हो । तर, दुध र चिनी खान नहुने मान्छेले खिर पनि खानु हुँदैन । ग्यास्ट्रिकका बिरामीले थोरै मात्रामा खान उपयुक्त हुन्छ ।