
उर्लाबारी, १३ साउन
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारी, मोरङमा नयाँ समिति चयन भएको छ । भोलि हुने महासंघको १४ औं नगर अधिवेशनको पूर्व सन्ध्यामा नयाँ समिति भने सर्वसम्मत् चयन भएको हो ।
शमशेर लिम्बूको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन भएपनि निर्वाचन समितिले आधिकारिक रुपमा साधारणसभाको अवसरमा भोलि मात्र निर्वाचित भएको घोषणा गर्ने जनाएको छ । नव गठित समितिको उपाध्यक्षत्रयमा सूर्यबहादुर माझी, नारायण धिमाल र सुकुरमुनी बेस्रा, सचिवमा नारायण चाम्लिङ राई, सहसचिवत्रयमा महेशकुमार शाक्य, अञ्जु लिम्बू र सुशिला मगर तथा कोषाध्यक्षमा रिता तामाङ सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक रुद्रबहादुर तामाङले बताए ।
समितिको सदस्यहरुमा गणेशकुमार मगर, तारा श्रेष्ठ, डुक्चे भोटे, वविता दनुवार, कमल गुरुङ, मनिराज देवान राई, शीरमाया धिमाल, कविता याक्खा, भीमबहादुर माझी, वीरेन्द्र मार्डी, सीता भुजेल र गजेन्द्र तामाङ रहेका छन् । यस्तै, लेखा समिति संयोजकमा खगेन्द्रबहादुर भुजेल, सदस्यमा मनकुमारी राई र नरबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् ।
महासंघको १४ औं साधारणसभा शनिबार उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा हुँदैछ । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने महासंघ नगर अध्यक्ष मणिलाल श्रेष्ठले बताए । महासंघले साधारणसभाको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिएको छ । सो अवसरमा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा भएका गतिविधिहरुका बारेमा पनि जानकारी गराएका थिए ।