
उर्लाबारी, १३ साउन
गौरवमय अतीत र लोभलाग्दो वर्तमान निर्माण गर्न सफल उर्लाबारीको नेपाल दर्शन कलेज शिक्षा आर्जन गर्ने एउटा उत्कृष्ट गन्तव्य मानिन्छ । २५ वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा प्रतिबद्ध रहँदै आएको शिक्षालय नेपाल दर्शन विद्यार्थीको रोजाइमा पर्ने कलेज हो ।
कुनै समय नेपालकै उत्कृष्ट कलेजको सूचीमा पर्न सफल नेपाल दर्शन स्थापनाको २५ औं वसन्तसम्म आउँदा परिवर्तित परिवेश र विद्यार्थीको आवश्यकता अनुसार भौतिक संरचनाको स्तरोन्नति गर्नुका साथै अध्ययन–अध्यापनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । यस कलेजका प्लस टु र अन्य तहका रिजल्टसमेत अत्यन्तै उत्कृष्ट रहेका छन् । नेपाल दर्शनको सुविधा सम्पन्न कम्प्युटर ल्याब र विज्ञान प्रयोगशाला यस क्षेत्रकै उत्कृष्ट मानिन्छन् ।
यहाँ अध्ययन–अध्यापनका लागि अत्यन्तै उपयोगी वातावरण छ । यस कलेजले व्यावहारिक, व्यवसायिक तथा सीपमूलक शिक्षण पद्दतिमा आधारित रही विद्यार्थीको सर्वाङ्गीण विकासलाई ध्यान दिएर शिक्षण क्रियाकलाप सञ्चालन गर्दै आएको छ । विद्यार्थीको सहजताका लागि झापा र मोरङका विभिन्न स्थानसम्म यातायातको सुविधा उपलब्ध रहेको यस कलेजमा प्लस टु र स्नातकका कक्षा छुट्टाछुट्टै भवनमा पढाइ हुन्छ । कलेजले जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरेको प्रबन्ध निर्देशक केपी शिवाकोटी बताउँछन् ।
सुविधा सम्पन्न नेपाल दर्शनमा प्लस टुमा विज्ञान र व्यवस्थापनका साथ स्नातक तहमा व्यवस्थापन संकायको पठनपाठन हुँदै आएको छ । यस वर्षदेखि कक्षा ११ र १२ मा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था गरिएको शिवाकोटीले बताए ।
मासिक तथा त्रैमासिक परीक्षा लिएर पृष्ठपोषणको व्यवस्था, सीसी क्यामेराको प्रत्यक्ष निगरानी, खेलकुद तथा अतिरिक्त क्रियाकलापको विशेष व्यवस्था, विभिन्न किसिमका छात्रवृत्तिको व्यवस्थालगायतको सुविधा प्रदान गरिएको सहप्राचार्य दुर्गाप्रसाद पौडेलले बताए । ‘नेपाल दर्शनमा दुई दशकभन्दा बढीदेखि प्राध्यापनरत दक्ष शिक्षकहरु पनि हुनुहुन्छ’ उनले भने, ‘हाम्रो दक्ष, अनुभवी शिक्षकहरुको टिमले शैक्षिक गुणस्तर कायम गर्न कुनै कन्जुस्याई गर्दैन ।’
कलेजकी प्राचार्य सविना खड्का कार्की नेपाल दर्शन गुणस्तरीय शिक्षा होस् या पूर्वाधार सबै क्षेत्रमा अब्बल रहेको बताउँछिन् । भन्छिन्, ‘पठन पाठन मात्र होइन विद्यार्थीको चौतर्फी विकासमा हामी चिन्तित छौं ।’