
उर्लाबारी, ३ साउन
उर्लाबारीका व्याडमिन्टन खेलाडीहरुले आफ्नै खर्चमा कवर्ड हल निर्माण गरेका छन् । उर्लाबारी–७ मा निर्माण गरिएको कवर्ड हलको आइतबार एक कार्यक्रमका बीच उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले उद्घाटन गरे ।
खेलाडीहरुले आफूहरुबाटै रकम संकलन गरेर र केही रकम विदेशमा रहेका उर्लाबारीवासीबाट सहयोग संकलन गरेर कवर्ड हल निर्माण गरेका हुन् । उद्घाटन कार्यक्रममा नगर प्रमुख खड्ग फागोले शारीरिक तन्दुरुस्तीका लागि व्याडमिन्टन खेल आवश्यक रहेको बताए । कवर्ड हलका थप पूर्वाधारका लागि नगरपालिकाले सहयोग गर्ने उनले बताए ।
जग्गा भाडामा लिएर ७ लाख बढीको लगानीमा कवर्डहल निर्माण गरिएको उर्लाबारी भेट्रान व्याडमिन्टन क्लबका अध्यक्ष राजेन्द्र भण्डारी (रमेश) ले बताए । कवर्डहल निर्माणमा अध्यक्ष भण्डारीले १ लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन् । यस्तै, युवा व्यवसायी तारामान सेरेङ लिम्बूले २१ हजार ५ सय, डम्बर सुब्बाले २० हजार सहयोग गरेका छन् । अन्य ३५ जना खेलाडीबाट ५ देखि १० हजारसम्म रकम संकलन गरिएको छ । यस्तै, विदेशबाट ११ जना व्यक्तित्वबाट झण्डै १ लाख रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष भण्डारीले बताए ।
कवर्ड हल उद्घाटन कार्यक्रममा उर्लाबारी वडा नं. ७ का वडाध्यक्ष वीरबल थापा, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लबका सल्लाहकार तारामान सेरेङ लिम्बूले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दुर्गाप्रसाद पौडेलले सञ्चालन गरेका थिए । कार्यक्रममा उर्लाबारी व्याडमिन्टन क्लबका अध्यक्ष हंशराज फागो, उर्लाबारी जेसीजका अध्यक्ष अशोक धिमाल, उर्लाबारी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।



