
उर्लाबारी, १३ साउन
उर्लाबारी नगरपालिका नगर कार्यपालिकाको बैठकले विभिन्न ऐन, नियम र कार्यविधि अनुसार आवश्यक समितिहरु गठन गरेको छ । आज बसेको कार्यपालिका बैठकले भूमिहीन तथा अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समिति, नगर शिक्षा समिति, खानेपानी व्यवस्थापन निर्देशक समिति, एम्बुलेन्स सेवा व्यवस्थापन तथा अनुगमन समिति र शव वाहन सेवा सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको प्रवक्ता भीष्मराज बुढाथोकीले जानकारी दिए ।
बैठकले नगर प्रमुख गंगाप्रसाद खरेलको संयोजकत्वमा भूमिहीन तथा अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समिति गठन गरेको छ । समितिको सदस्यमा नगर उपप्रमुख मीना खतिवडा पौडेल, राजनीतिक दलका एक÷एक जना प्रतिनिधि, कार्यपालिका सदस्यहरु सुनिल धिमाल र सन्तकुमारी विश्वकर्मा रहेका छन् । यस्तै, उर्लाबारी नगरपालिकामा क्रियाशील किसान, सुकुम्बासी, भूमिहीन, बसोबासीलगायतका क्षेत्रमा काम गरिरहेका संघ, संगठन वा नागरिक समाजबाट नदोहोरिने गरी सहजीकरण समितिले मनोनयन गरेका कम्तिमा एक महिला, एक दलित सहित ३ जना सदस्य रहने जनाइएको छ । यो समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी रहेका छन् ।
यस्तै, नगर शिक्षा समितिको संयोजकमा नगर प्रमुख गंगाप्रसाद खरेल, सदस्यहरुमा उपप्रमुख मीना खतिवडा, कृष्णबहादुर बर्देवा, उर्मिला थापा, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी रहेका छन् । शिक्षा शाखा प्रमुख अशोक घिमिरेलाई सदस्य सचिव तोकिएको छ । यो समितिमा अन्य सदस्यहरु पछि थप गर्दै लैजाने निर्णय भएको प्रवक्ता बुढाथोकीले बताए ।
यस्तै, नगर प्रमुख गंगाप्रसाद खरेलको संयोजकत्वमा खानेपानी व्यवस्थापन निर्देशक समिति गठन गरिएको छ । समितिको सदस्यमा उपप्रमुख मीना खतिवडा, वडाध्यक्ष चिन्तामणि पौडेल र सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी रहेका छन् ।
यसैगरी, एम्बुलेन्स सेवा व्यवस्थापन तथा अनुगमन समितिको संयोजक उपप्रमुख मीना खतिवडालाई तोकिएको छ । सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, कार्यपालिका सदस्यहरु भीष्मराज बुढाथोकी र सीता बुढाथोकी, स्वास्थ्य संस्थाको तर्फबाट प्रकाश चौहान छन् भने स्वास्थ्य शाखा प्रमुख तोयानाथ घिमिरेलाई सदस्य सचिव तोकिएको छ । आजको बैठकले उपप्रमुख खतिवडाकै संयोजकत्वमा शव वाहन सेवा सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा कार्यपालिका सदस्य कृष्णबहादुर बर्देवा, अधिकृत भरत अधिकारी र वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक रहेका छन् । स्वास्थ्य शाखा प्रमुख घिमिरेलाई यो समितिको सदस्य सचिव तोकिएको छ ।
कार्यपालिका बैठकले नगर क्षेत्रभित्र रहेका विभिन्न सार्वजनिक, ऐलानी र पर्ती जग्गाहरुको पहिचान र संरक्षण गर्दै विभिन्न प्रयोजनका लागि नगरपालिकालाई आवश्यक जग्गाहरु प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यस्तै, नदी तटबन्ध गरिसकेको क्षेत्रमा नम्बरी जग्गा बाहेकको नदी किनारका जग्गाहरु तत्काल नगरपालिकाले संरक्षण गरी आफ्नो मातहतमा ल्याउने निर्णय भएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।