About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १३ साउन
उर्लाबारी नगरपालिकाले विभिन्न सीपमूलक तालिम दिएपछि यहाँका महिलाहरु आत्मनिर्भर बन्न थालेका छन् । नगरपालिकाले सिलाइ कटाइ, ढाका, व्युटीपार्लर, ड्रेस मेकरलगायत तालिम दिएपछि महिलाहरु आत्मनिर्भरताको बाटोमा अघि बढेका हुन् ।
नगरपालिकाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक विकास शाखामार्फत महिलाहरुलाई विभिन्न तालिम प्रदान गरिएको शाखा प्रमुख चन्द्रकला सुब्बाले जानकारी दिइन् । आर्थिक वर्ष २०७४÷०७५ देखि हालसम्म २५२ जना महिलाले सिलाइ कटाइ तालिम लिएका छन् । यो अवधिमा १५ दिने, एक महिने, दुई महिने, तीन महिने आधारभुत, एडभान्स तथा पुनर्ताजगी तालिम सञ्चालन गरिएको प्रमुख सुब्बाले बताइन् । सिलाइ कटाइ तालिम लिएका मध्ये ५५ जनाले आफैँ व्यवसाय सञ्चालन गरेका, ९ जनाले अरुको व्यवसायमा काम गर्दै गरेका र ४ जना प्रशिक्षक भएर कार्य गर्दै आएका छन् । उनीहरुले मासिक १२ हजारदेखि ३५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
यस्तै, उर्लाबारी नगरपालिकाले हालसम्म १०४ जनालाई ढाका तालिम प्रदान गरेको छ । विभिन्न समयमा सञ्चालन भएको ढाका तालिम लिएर धेरै महिलाले आफैँ उद्योग सञ्चालन गर्न थालेका छन् । पाँच जनाले ५ देखि १५ वटा तान राखेर उद्योग सञ्चालन गरेको सुब्बाले जानकारी दिइन् । यस्तै, घरमा बुनेर दोकानमा काम गर्ने १८ जना, प्रशिक्षक भएर काम गर्ने ४ जनाले मासिक १० हजारदेखि ३० हजार रुपैयाँसम्म कमाइ गरिरहेका छन् । केही दिन अघिमात्र ४० जना महिलाले छ महिने ढाका तालिम पूरा गरेका छन् । उनीहरुलाई नगरपालिकाले एक÷एक थान तान समेत प्रदान गरेको छ ।


यसैगरी, हालसम्म ७९ जना महिलाले आधारभुत व्युटीपार्लर तालिम लिएका छन् । उनीहरुमध्ये १४ जनाले आफैँ व्यवसाय सञ्चालन गरेका छन् भने ५ जना अर्काको पसलमा काम गर्दै आएका छन् । एक जना प्रशिक्षक भएका छन् भने पाँच जना वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको शाखा प्रमुख सुब्बाले बताइन् ।
उर्लाबारी नगरपालिकाले महिलाहरुलाई व्यवसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले नगरका ९ वटै वडामा गरी ८८ वटा महिला समिति गठन गरेको छ । समितिमार्फत बचत परिचालन गर्न नगरपालिकाले १५ लाख ३ हजार रुपैयाँ कोषमा प्रदान गरेको छ भने १ करोड ४० लाख ६३ हजार ७६८ रुपैयाँ बचत भई कोषमा १ करोड ५५ लाख ६६ हजार ७६८ रुपैयाँ जम्मा भएको छ । उर्लाबारीको वडा नं. १ मा १२, वडा नं. २ मा ८, वडा नं. ३ मा ९, वडा नं. ४ मा ८, वडा नं. ५ मा ७, वडा नं. ६ मा ९, वडा नं. ७ मा १०, वडा नं. ८ मा १३ र वडा नं. ९ मा १२ वटा महिला समिति गठन गरिएको छ ।
नगरपालिकाले महिला विकास कार्यक्रम अन्तर्गत महिला समितिका अध्यक्ष, सचिवको बैठक, वडाका मूल समितिको भेला तथा गठन, सीप सिकेर व्यवसाय गर्न इच्छुक समूहहरुलाई आवश्यक सामग्री वितरणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको सुब्बाले जानकारी दिइन् । उनका अनुसार विपन्न, विधवा महिलाहरुलाई आत्मनिर्भरताका लागि मेसिन वितरण, सुनौला हजार दिनका आमाहरुका लागि पोषण सम्बन्धी शिक्षा, किशोर किशोरीलाई प्रजनन् स्वास्थ्य र अपाङ्गता रोकथाम सम्बन्धि शिक्षलगायतका कार्यक्रम पनि सञ्चालन गरिएको छ ।


यस्तै, उर्लाबारी नगरपालिका, प्रदेश १ को सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनको सहकार्यमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । तीन वर्षअघिदेखि सञ्चालित कार्यक्रम अन्तर्गत अपाङ्गताका क्षेत्रमा पनि उर्लाबारीमा विभिन्न कार्यक्रमहरु भएका छन् । अपाङ्गता परिचय पत्र वितरण तथा स्वास्थ्य शिविर, सहायक सामग्री वितरण गरिएको शाखा प्रमुख सुब्बाले बताइन् । उर्लाबारीमा पूर्ण अशक्त अपाङ्गता १६२ जना र अति अशक्त अपाङ्गता २६६ जना रहेको र उनीहरुले सामाजिक सुरक्षा भक्ता प्राप्त गरिरहेका छन् ।
विभिन्न समयमा नगरपालिकाले प्रदान गरेको तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतारी व्यवसायिक बन्न आवश्यक रहेको नगर प्रमुख गंगाप्रसाद खरेल बताउँछन् । सीपलाई सही सदुपयोग गर्ने हो भने आत्मनिर्भर बन्न सकिने र आफू तथा परिवारको आर्थिक उन्नतिमा सहयोग पुग्ने उनको भनाई छ । नगरपालिकाले अझै पनि प्राथमिकताका आधारमा विभिन्न किसिमका तालिम प्रदान गरी आत्मनिर्भरताको बाटो पहिल्याउन सहयोग गर्ने उनको भनाई छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय