
उर्लाबारी, ११ साउन
उर्लाबारीलाई तेह्रथुमपछि ढाका उत्पादनको केन्द्र बनाउन उर्लाबारी नगरपालिका लागि परेको छ । उर्लाबारीमा सञ्चालित छ महिने ढाका तालिमको समापन कार्यक्रममा नगर प्रमुख गंगाप्रसाद खरेलले उर्लाबारीलाई ढाकाको हब बनाउने योजना रहेको बताए । ढाका बुनाइ सीप सिकेपछि व्यवसायिक रुपमा लाग्नु पर्ने बताउँदै उनले यही सीपबाट आत्मनिर्भर बन्न सकिने बताए ।
कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेलले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतारेर आर्थिक समृद्धितर्फ अघि बढ्नु पर्ने बताइन् । निवर्तमान उपप्रमुख लक्ष्मीदेवी भण्डारीले ‘ढाकाको तान, उर्लाबारीको सान’ भन्ने नाराका साथ यसअघि पनि ६४ जनालाई ढाका तालिम दिएर आत्मनिर्भरताको बाटोमा अघि बढाइएको बताइन् । उक्त तालिम लिएका मध्ये अधिकांश व्यवसायिक बनेको उनले बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले उर्लाबारीमा कोसेली घर निर्माणको प्रक्रियामा रहेको जनाउँदै कोसेली घरमार्फत उत्पादनहरुको बजारीकरण गरिने बताए । तालिममा सहभागीको तर्फबाट अन्जु राई र सविता नेम्बाङले उत्पादनले बजार नपाउने हो कि भन्ने चिन्ता रहेको बताए । आफूहरुले उत्पादन गरेको ढाका नगरपालिकाले खरिद गरिदिए उत्तम हुने उनीहरुले बताए । प्रशिक्षक कविता राईले यतिका समय तालिम लिएपछि अब व्यवसायिक बन्न आग्रह गर्दै तानको सदुपयोग गर्न आग्रह गरिन् ।
उर्लाबारी नगरपालिकाको आयोजनामा गत माघ ४ गतेदेखि सुरु भएको छ महिना ढाका तालिम आज समापन गरिएको हो । आमा मिलन केन्द्र उर्लाबारी–५ को सभाहलमा सञ्चालित तालिममा उर्लाबारीका ९ वटै वडाका गरी ४० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा भीममाया माबोहाङ र कविता राईले सहजीकरण गरेका थिए ।
तालिम समापन कार्यक्रमका अवसरमा आज सहभागी ४० जनालाई नै एक एक सेट तान प्रदान गरिएको छ । तालिममा सिकेका सीपलाई व्यवहारिक रुप दिनका लागि उनीहरुलाई तान प्रदान गरिएको नगरपालिका महिला बालबालिका शाखाकी प्रमुख चन्द्रकला सुब्बाले बताइन् । उर्लाबारीमा हालसम्म १ सय जनाभन्दा बढीलाई ढाका तालिम प्रदान गरिएको उनले जानकारी दिइन् ।